विराटनगर । सुनसरी गढी गाउँपालिका–२ औराबनीमा सञ्चालित चौधरी ग्रुपको सीजी फुड्स पार्क, वाइवाइ चाउचाउ उद्योगमा कार्यरत मजदुरहरु आन्दोलित भएका छन् । पाँचवर्षदेखि सञ्चालित उद्योगबाट सेवा सुविधा नपाएको भन्दै काम रोकेर ४५० जना मजदुर आन्दोलनमा उत्रिएका हुन् ।
कम्पनीले लाभांश बापतमा केही रकम दिंदै आएको र यसलाई निरन्तरता दिने भन्ने सहमति विपरित उद्योग प्रशासन गएपछि आन्दोलनमा उत्रनु परेको मजदुरहरुको भनाई छ । गत असोज १४ गते १ महिने लिखित अल्टिमेटम दिएका मजदुरहरुले बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल कारखाना श्रमिक संघका एकाइ अध्यक्ष दिनेश मुखियाले बताए । संघले उद्योगमा श्रम ऐनमा भए अनुसार कुनै सेवा सुबिधा नपाएको दावी गरेको छ ।
यस कम्पनीले बिगत २ बर्षदेखि मुनाफाको दस प्रतिशत रकमको लाभांश स्वरूप दिनुपर्नेमा विभिन्न बहानाबाजी गर्ने कम्पनी घाटामा गएको भन्दै आलटाल गर्दै आएको छ । मजदुरहरुले भने नयाँ संरचना र मेसिनरी सामान खरिद गर्दै आएको उद्योगले मजदुरलाई घाटा देखाएर सुविधा कटौती गर्न चाहेको आरोप छ ।