विराटनगर भन्सारको गस्ती टोलिले समात्यो तस्करी भएर आएको ५०५ बोरा मैदा

विराटनगर भन्सारको गस्ती टोलिले समात्यो तस्करी भएर आएको ५०५ बोरा मैदा

विराटनगर। विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले सुनसरीको सीमा क्षेत्रबाट तस्करी भएर आएको ५०५ बोरा मैदा नियन्त्रणमा लिइएको छ । सोमबार राती नेपाली नम्बरका २ ट्याक्टर र २ मिनी ट्रकमा लोड गरिएको १५ लाख मूल्य बराबरको मैदासहित संलग्न पाँचजनालाई नियन्त्रणमा लिइएको हो ।

तस्करी भएर आएको मैदा औद्योगिक करिडोरका उद्योगमा बिक्री गर्ने गरेको खुलेको छ । भारतको सीमा क्षेत्रमा पर्ने सुनसरीको घुस्की नाकाबाट मैदा तस्करी गरेर नेपाल भित्र्याइएको थियो । भन्सार गस्ती टोलीले भारतीय नम्बरको कारसहित कारमा बसेका अवैध कारोबारीलाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा को १ ख ३१४५ नम्बरको मिनी ट्रकका चालक सुनसरीको हरिनगरा गाउँपालिका–७ का वर्ष ३७ का जमसेद आलम, सुनसरी हरिनगरा २ घर भई को २ त १३०३ नम्बरको ट्याक्टरका चालक वर्ष २२ का नाजिर खान, सुनसरीको हरिनगरा ७ का १८ वर्षीय असरफ अली छन् । अली चालक भएको मे १ त ७०५५ नम्बरको ट्याक्टर समेत परेको छ । हरिनगरा–७ कै वर्ष २३ का फिरोज मियाँसहित उनले चलाएको को १ ख २३७६ नम्बरको मिनी ट्रक समेत नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका चारवटै साधनमा तस्करी भएर आएको मैदा लोड गरिएको थियो । यस्तै मैदा तस्करीमा संलग्न कार चालक भारतको विहार राज्य नगरपतगञ्जको मोहम्मद रिजवान हुन्। उनले डब्लु बी ०२ भी २३४० नम्बरको कार चलाएका थिए ।
विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाले पक्राउ गरिएका उनीहरुसँग बयान लिने काम सुरु भएको जानकारी दिएका छन् । गस्तीमा प्रमुख सापकोटाको नेतृत्वको टोलि गएको थियो । पक्राउ परेका पाँचैजना विरुद्ध भन्सार चोरी पैठारीको मुद्दा चलाईने भएको छ ।

पक्राउ परेको मैदा र भारतीय नम्बरको कार कार्यालयले जफत गरी लिलामी गर्ने तथा मैदा लोड गरिएका ढुवानीका साधनहरू भाडामा ल्याइएको पुष्टि भएमा छोडिने भएको छ । भारत सरकारले गत वैशाख ३० गते गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका मैदा उद्योग कच्चा सामग्रीको अभावमा छन् । यिनै उद्योगमा बिक्री गर्नलाई भारतबाट मैदा तस्करी हुन थालेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्