विराटनगर । निर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै मंसिर १ गते मध्यरातीदेखी चारदिन सीमानाका बन्द रहने भएको छ । मंसिर ४ मा हुने निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यलय मोरङले पनि यता चार दिन सम्मका लागी सीमानाका बन्द गर्ने भएको छ ।
मोरङ प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मंसिर १ गते बिहीबार रातीदेखी मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । तर अति आवश्यकीय सवारीसाधनलाई भने छुट रहेको दाहालले बताउनुभयो ।
यसैविच आसन्न मङ्सिर ४ को निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मोरङ जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्णरुपमा निषेध गरिएको छ कोही कसैले सूचनाको बर्खिलाप गरी मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने समेत मोरङ प्रशासनले जनाएको छ ।
आसन्न निर्वाचनलाई भएरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल जिल्लाबासी, सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्न जिल्ला प्रशासन कार्यलय मोरङले आग्रह गरेको छ ।
भिडियो रिर्पोटहेर्नुहोस् :