विराटनगर । मोरङका ३०६ मतदानस्थलका ८३९ मतदान केन्द्रमा मतदान सकिएको छ । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन सुरु गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार अहिले धमाधम मतपेटीका मतगणनास्थलतर्फ केन्द्रीत गर्ने काम भईरहेको छ ।
मोरङमा ६६ प्रतिशत हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान गरिएको प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन काश्यप अधिकारीले बताए । यसको यकिन विवरण मतपेटीका संकलन भइसकेपछि मात्रै आउने छ ।
जिल्लामा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन् । ६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङमा मतदान सकिँदा सम्म ६५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ । मतगणना भने कतिबेलादेखि सुरु गर्ने भन्ने अहिले अन्यौल छ । त्यसको निर्णय सर्वदलिय बैठकले गर्नेछ । बैठक बस्ने विषय यकिन भएको छैन ।
मोरङमा क्षेत्र नम्बर १ उर्लाबारी नगरपालिका भवन, उर्लाबारी क्षेत्र नम्बर २ विश्वनाथ मन्दिर रतुवामाई, क्षेत्र नम्बर ३ भगवती मावि, बेलबारी, क्षेत्र नम्बर ४, ५ र ६ को आदर्श मावि, विराटनगरमा मतगणनास्थल तोकिएको छ ।