विराटनगर । मोरङको उत्तरी क्षेत्रको मतपेटीका संकलनमा समय लाग्ने भएपछि सोमबारबाट मात्र मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहानबाट गणना सुरु गर्ने तयारी गरेको हो ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले सबै मतपेटीका संकलन भएपछि मात्रै मतगणना सुरु गर्ने जानकारी दिए ।
निर्वाचन क्षेत्र नं. ४, ५ र ६ को विराटनगरस्थित आदर्श माविमा गणना हुनेछ । मोरङ क्षेत्र नं। १ को उर्लाबारी नगरपालिका, क्षेत्र नं. २ को रतुवामाई नगरपालिकामा रहेको विश्वनाथ मन्दिर र क्षेत्र नं. ३ को बेलबारी नगरपालिका ३ मा रहेको भगवती माविमा गणना हुने उनले बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएसँगै मतगणनाको तयारी भईरहेको जानकारी दिनुभयो । मतगणनास्थलको सुरक्षा व्यवस्था लगायतका कामलाई अहिले प्राथमिकता दिएर तयारी भईरहेको छ ।