सुन्दरहरैँचा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आइतबार भएको मतदानको मोरङको विभिन्न निर्वाचन क्षेत्रको मतगणना अहिले जारी छ ।
सर्वदलीय सहमतिका आधारमा मोरङको मतगणना थालनी गरिएको प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालले जानकारी दिनुभयो । उहाँले मतगणनालाई सहज बनाउन उम्मेदवार र एक-एक जना दलका प्रतिनिधिसभा मात्र बस्न पाउने निर्णय गरेको बताउनुभयो । मोरङ क्षेत्र नं. ३ मा भने सोमबार दिउँसो २ः२५ देखि समानुपातिकतर्फ मतगणना सुरू भएको हो ।
मोरङमा क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिका भवन, क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर रतुवामाईमा र क्षेत्र नम्बर ३ को भगवती मावि, बेलबारीमा मतगणना भएको छ । क्षेत्र नम्बर ४, ५ र ६ को आदर्श मावि, विराटनगरमा मतगणना भइ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मोरङमा जम्मा मतदाता सात लाख ३५ हजार पाँच सय २५ रहेको तथा खसेको मत चार लाख ८७ हजार ४७ रहेको निर्वाचन कार्यालयले जनाएको छ । आइतबार भएको निर्वाचनमा मोरङमा ६६ दशमलव २२ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताउनुभयो ।