पहिलो प्रदेशसभाबाट विदा भएका १३ जना फर्के १५ फर्केनन्, ६१ जनाले प्रत्यक्ष प्रतिस्पर्धामा भाग लिएनन्

पहिलो प्रदेशसभाबाट विदा भएका १३ जना फर्के १५ फर्केनन्, ६१ जनाले प्रत्यक्ष प्रतिस्पर्धामा भाग लिएनन्

विराटनगर । संघीयता स्थापनापछि प्रदेश संरचना अन्तर्गतको प्रदेश संसदमा सहभागी भएकामध्ये १३ जना मात्रै दोहोरिएका छन् । एक कार्यकाल सकाएर पुनः निर्वाचन प्रतिस्प्रर्धामा फर्केकामध्ये १५ जना पराजित भएपछि उनीहरु पुनः प्रदेशसभामा फर्कन नपाएका हुन । गत मंसिर ४ गते सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार प्रदेश १ का ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४७ वटाको अन्तिम मत परिणाम आईसकेको छ । यस पटक पनि नेकपा एमाले प्रदेशसभामा ठूलो दल बन्ने हैसियतमा देखिएको । एमाले एक्लै २१ सिटमा विजयी भइसकेको छ । अझै गणना जारी रहेकामध्ये ४ वटामा अग्रता कायम छ । नेपाली कांग्रेस १२ क्षेत्रमा विजयी भएको छ, जारी गणनामा चारवटा क्षेत्रमा अग्रता बनाईरहेको छ ।

यो निर्वाचनमा माओवादी केन्द्रले ९ वटामा विजय प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादीले ३ वटामा जित हाँसिल गरेको छ । राप्रपाले २ वटामा सिट लिन सफल देखिएको छ ।
प्रदेश १ का लागि प्रदेशसभाको पुनः प्रवेश पाउनेमध्ये एमालेका ७ सांसद रहेका छन् । रामबहादुर राना, इलाम २ (२), हिक्मतकुमार कार्की, झापा ५ (१), एकराज कार्की, झापा २ (१), इन्द्रमणि पराजुली, धनकुटा (२), लिलाबल्लभ अधिकारी, मोरङ २ (२), निरन राई, धनकुटा (१) र बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु (२) छन् ।
नेपाली कांग्रेसबाट प्रदेशसभामा दोहोरिनेमा केदार कार्की, मोरङ ६(२) छन् । उदपुरका हिमाल कार्की उदयपुर १ (२) मा अग्रता बनाईरहेका छन् ।

माओवादी केन्द्रबाट दोहो¥याउनेहरुमा इन्द्रबहादुर आङ्बो पाँचथर (२) बाट र नारायण बहादुर मगर उदयपुर २ (१) बाट छन् । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका उम्मेदवार तथा हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई, भोजपुर (१) बाट निर्वाचित भएका छन् । इलाम १ (१) बाट समाजवादीकी उमेदवारी एवं प्रदेश १ की पर्यटनमन्त्री खिनु लङ्वा लिम्बू अग्रता कायम गरिरहेकी छिन् ।

पराजय व्यहोर्ने प्रदेशका निवर्तमान सांसदहरू
प्रदेश १ को संसदमा यस पटक दोहारिने संभावना भएकामध्ये नेपाली कांग्रेसका नेता राजिव कोइराला पराजित बनेका छन् । उनी सुनसरी २ (२) बाट पराजित बनेका हुन् । उनी अघिल्लो संसदमा कांग्रेस संसदीय दलका नेता थिए । यस पटक मुख्यमन्त्रीको दावी प्रस्तुत गर्दै आएका थिए । यस्तै मुख्यमन्त्रीको चाहना राखेका एमाले नेता तथा प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे मोरङ ४ (२) बाट कांग्रेस नेता भीम पराजुलीसँग पराजित भए । निवर्तमान उपसभामुख सरस्वती पोखरेल सुनसरी ३ (१) बाट पराजित बनेकी छिन् । माओवादी केन्द्रकी उनी अघिल्लो पटक समानुपातिकबाट निर्वाचित भएकी थिइन् ।

अघिल्लो कार्यकालमा ओखलढुंगा (१) बाट निर्वाचित भएर मन्त्रीसमेत बनेका एमाले नेता अम्बिरबाबु गुरुङ यस पटक पराजित भएका छन् । एमालेका उत्तमकुमार बस्नेत सोलुखुम्बुको (१) बाट पराजित बनेका छन् । प्रदेश १ का यातायात तथा सञ्चारमन्त्री उपेन्द्र प्रसाद घिमिरे पनि हारेका छन् । माओवादी नेता कुशल लिम्बू मोरङ १ (१) बाट हारेका छन् । भने माओवादीको समानुपातिक सांसद बनेकी धनकुटाकी कुशुमकुमारी श्रेष्ठ पनि पराजित भएकी छिन् ।

हालका प्रदेश स्वास्थ्यमन्त्री जयराम यादव मोरङ ५ (२) बाट पराजित बनेका छन् । प्रदेश १ का कृषिमन्त्री झलकबहादुर मगर झापाबाट पुनं संसद फर्किन रोकिएका छन् । एमाले नेता तेजमान कन्दङ्बा तेह्रथुम २, माओवादी नेता पूर्णप्रसाद राजवंशी झापा ३ (२), एमालेबाट बसन्तकुमार बानिया पनि झापा ३ (१) बाट पराजित बनेका छन् ।

यस्तै एमालेबाट समानुपातिक सांसद बनेर संसद छिरेकी बसन्तीदेवी यादव यसपटक हारेकी छिन् । एमाले छोडेर मोरङ ५ (२) बाट प्रत्यक्षमा प्रतिस्पर्धा गरेकी उनलाई जितका लागि आवश्यक मत प्राप्त भएन । समानुपातिक कोटाबाट सांसद बनेकी नेकपा एकीकृत समाजवादीकी नेतृ सरिता थापा संखुवासभा २ बाट पराजित बनेकी छिन् ।

प्रदेश १ मा अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने ९३ जना सांसदमध्ये एमाले नेता जगदिशप्रसाद कुसियैत, भीम आचार्य, शेरधन राई तथा माओवादी नेता रामकुमार राई संघीय सांसदको प्रतिस्पर्धामा थिए । एमाले नेताहरू कुसियैत सुनसरी ४, आचार्य सुनसरी २, राई भोजपुरबाट प्रतिस्पर्धा गरेका छन् । उनीहरुमध्ये आचार्य र कुसियैतले अग्रता लिएपनि शेरधन राई पराजित भईसकेका छन् । माओवादी नेता रामकुमार राई पनि खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । २०७४ सालमा प्रदेश १ प्रदेशसभामा आएका अन्य ६१ जना सांसद यो निर्वाचनमा प्रत्यक्षतर्फ भाग लिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्