विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको आधारभुत अग्नि नियन्त्रण तथा उद्दार कार्यको ६ दिने तालिम विराटनगरमा सम्पन्न भएको छ ।
विभिन्न प्रकारका अग्नि नियन्त्रणको डेमोसहित मंगलबार महानगरको उक्त तालिम सम्पन्न भएको हो ।

महानगरपालिका सहित आसपासका क्षेत्रहरुमा आगलागीबाट हुने जनधनको क्षति न्यूनीकरणमा सघाउ पुग्ने उद्देश्यका साथ गत मंसिर ७ गतेदेखि तालिम सुरु भएको थियो ।
महानगरको वारुणयन्त्र र नगर प्रहरीका कुल २० जना प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार वारुणयन्त्रका १३ र नगरप्रहरीका ७ जनालाई तालिम दिईएको हो । बिशेषगरी सिमित साधनश्रोतको अधिकतम उपयोग र त्यसको प्रयोग लगायतका बिषयमा विपदमा खटिने महानगरका कर्मचारीहरुलाई तालिम दिईएको महानगरका नगरप्रहरी प्रमुख राजन पौडेलले बताए ।
आगोको प्रकार र नियन्त्रणका उपाय लगायतका बिषयलाई तालिमको मुख्य बिषयवस्तु बनाईएको महानगरले जनाएको छ । महानगरले मंगलबार तालिम अवधिमा प्रशिक्षार्थीहरुले सिकेका बिषयको डेमो समेत प्रदर्शन गरेको थियो ।

प्रशिक्षार्थीहरुलाई अग्नी नियन्त्रण तथा उद्धार गर्ने तरिका , विपत व्यावस्थापन प्रणाली, घरेलु आगलागी प्रतिकार्य योजना लगायत १५ प्रकारका तालिम प्रदान गरिएको थियो । ६ दिने आधाभुत अग्नी नियन्त्रण तथा उद्धार कार्य तालिमको सहजीकरण काठमान्डौ महानगरपालीकाका नगर प्रहरी निरीक्षक किशोर भट्टराईले गर्नुभएको थियो ।
विराटनगर ३ पुष्प मार्गमा आयोजना गरिएको डेमो कार्यक्रममा विराटनगर महानगरपालीका कार्यबहाक मेयर प्रकाश साह , कार्यकारी अधिकृत , कर्मचारी , सञ्चारकर्मी लगायत विराटनगरका विभिन्न स्कुलका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

