विराटनगर । विराटनगरको हाटखोलामा मंसिर १६ गते हुन लागेको मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य’ लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजक समितिले विराटनगरमा बुधबार पत्रकार सम्मलेनको आयोजना गरी नेपथ्य लाईभ कन्र्सटको अन्तिम तयारीबारे जानकारी गराएको हो । एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले मानवीयताको अभियानलाई थप प्रभावकारी बनाउन नेपथ्य ब्याण्डसँगको सहकार्यमा विराटनगरको हाटखोला मैदानमा नेपथ्य लाइभ कन्सर्ट गर्न लाग्दैछ ।
एक महिने लाइभ कन्सर्टको पहिलो कार्यक्रमको रुपमा विराटनगरबाट मंसिर १६बाट सुरुवात गरिदैछ । विराटनगर पस्चात लगातार देशका अन्य ९ प्रमुख सहरहरूमा कन्सर्ट हुने मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
मानवता प्रवर्द्धनसँगै मानवसेवा आश्रम विराटनगर शाखाले विराटनगर महानगरपालिका वडा नं. ५ स्थित बरगाछीमा भवन निर्माण कार्य गरिरहेको छ । उक्त भवन निर्माण कार्यलाई सम्पन्न गर्न नेपथ्यसँग सहकार्य गरेर आश्रमले सांगीतिक कार्यक्रम आयोजना गरिएको अधिकारीले बताउनुभयो ।
फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ लाइभ कन्सर्टको लागि काठमाडौंबाट २ वटा कन्टेनरमा ल्याएको स्टेजका सामाग्रीहरु प्राविधीक टिमले स्टेजलाई सजावटको काम धमधाम भईरहेको छ ।
कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको साथै टिकटको विक्री वितरणको कामहरु समेत अहिले धमाधम भईरहेको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले आवर विराटनगरलाई जानकारी दिए ।
आफ्नो निर्माणाधीन भवन सम्पन्न गर्नुका साथै बेसहाराका लागि आपतकालीन कोष स्थापना गर्ने उद्देश्यले सुरु गरिएको साङ्गीतिक यात्रा अबको २ दिनपछि विराटनगरको हाटखोला मैदान मंसिर १६ गते शुक्रबार दिउँसो ४ बजेपछि हुदैछ । यसका लागी सुरक्षा व्यावस्थापन, टिकक विक्री वितरण देखी कार्यक्रमको सम्पुर्ण तयारी भने अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।