प्रदेश १ मा एमाले ठूलो दल, सरकार कसको नेतृत्वमा बन्ने भने छैन एकिन

प्रदेश १ मा एमाले ठूलो दल, सरकार कसको नेतृत्वमा बन्ने भने छैन एकिन

विराटनगर । प्रदेश १ मा नेकपा एमाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो मतपरिणाम प्राप्त गर्ने दल बनेको छ । सामानुपातिकतर्फको मत गणना सम्पन्न हुँदा एमाले एक्लै ४० सिट जितेर ठूलो दल बनेको हो ।

९३ सदस्यीय प्रदेशसभामा एमाले गठबन्धनले ४७ र सत्ता गठबन्धनलाई ४६ प्रदेश सांसद प्राप्त भएको छ । सुनसरी ४ मा मतगणनाको क्रममा विवाद भएकाले ढिलो गरी समानुपातिकतर्फको मत गणना शुक्रबार सम्पन्न भएको थियो । यस प्रदेशको १४ जिल्लास्थित ५६ प्रदेश निर्वाचन क्षेत्रमध्ये एमालेले सबभन्दा बढी २५, कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा (एकिकृत समाजवादी)ले ३ र राप्रपाले २ क्षेत्र जितेको छ ।
समानुपातिकतर्फ यस प्रदेशमासदर मत १८ लाख ९९ हजार १ सय ४४ मतमध्ये १ दशमलव ५ प्रतिशतको थ्रेस होल्ड कटाउने दलमा एमाले पहिलो, कांग्रेस दोस्रो, राप्रपा तेस्रो, माओवादी केन्द्र चौथो, जनता समाजवादी पार्टी (जसपा) पाँचौ र एकिकृत समाजवादी पार्टी छैठौँ स्थानमा छ ।

समानुपातिकतर्फ एमालेले ६ लाख ६५ हजार ४ सय ६०, कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६, राप्रपाले १ लाख ९८ हजार ५ सय ११, माओवादी केन्द्रले १ लाख ८१ हजार २ सय ४५, जसपाले ६१ हजार ७ सय २३ र एकिकृत समाजवादीले ५५ हजार ९ सय ५७ मत प्राप्त गरेको छ । अघिल्लो पटक समानुपातिकमा एउटा प्रदेश सांसद पाएर राज्यमन्त्रीसम्मको यात्रा तय गरेको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ५ सय ३१ मतमा सिमित भएको छ । यस पटक संयुक्त लोकतान्त्रिकले १ दशमलव ५ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन । यसपटक संघीय लोकतान्त्रिकले थ्रेस होल्ड नै कटाउन नसके पछि समानुपातिकमा प्रदेश सांसद पाउने दलमा एउटा दल घटेको छ ।
समानुपातिक सिट बाँडफाँडको सुत्र अनुसार दलहरूले प्राप्त गरेको मतको आधारमा सामानुपातिकतर्फको ३७ प्रदेश सांसदमध्ये एमालेले १५, कांग्रेसले १२, राप्रपाले ४, माओवादी केन्द्रले ४, जसपा र एकिकृत समाजवादीले १–१ प्रदेश सांसद पाउने छन् । ९३ सदस्यीय प्रदेशसभामा समानुपातिक र प्रत्यक्ष गरी एमालेले ४०, कांग्रेसले २९, माओवादी केन्द्रले १३, राप्रपाले ६, एकिकृत समाजवादीले ४ र जसपाले १ प्रदेश सांसद प्राप्त गर्ने निश्चित भएको छ । यस आधारमा एमाले तालमेलमा रहेका दलहरूले ४७ र सत्ता गठबन्धन दलहरूले ४६ प्रदेश सांसद प्राप्त गर्नेछन् ।
यो नतिजासँगै सरकार गठनको कसरत सुरु भएको छ। यसपटक समानुपातिकतर्फ राप्रपाले गत निर्वाचनमा प्राप्त गरेको ३.३० प्रतिशतभन्दा ७.१५ प्रतिशत बढी मत ल्याएपछि एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपाको मत घटेको छ । एमालेले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ३८.७९ प्रतिशत, कांग्रेसले ३३.७६, माओवादीले ११.९१, जसपाले ४.०६, राप्रपाले ३.३० र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले १.५ प्रतिशत मत प्राप्त गरेका थिए ।

यसपटक समानुपातिकतर्फ एमालेले गत निर्वाचनभन्दा ३.७५ प्रतिशत कम, कांग्रेसले ४.१२ प्रतिशत कम, माओवादीले २.३७ प्रतिशत कम मत प्राप्त गरेको छ ।

पहिलो प्रदेशसभामा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिक १५ गरी ५१, कांग्रेसले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ गरी २१, माओवादी केन्द्रले प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ५ गरी १६, जसपाले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ २ गरी ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १–१ प्रदेश सांसद प्राप्त गरेका थिए । अघिल्लो प्रदेशसभामा एमाले नेतृत्वमा वाम गठबन्धनको दुई तिहाइभन्दा बढीको सरकार साढे तीन वर्षमा ढलेको थियो । एमाले विभाजन भएर ५ प्रत्यक्ष र ५ समानुपातिक प्रदेश सांसद नेकपा (एकिकृत समाजवादी) मा गएपछि सरकार ढलेको थियो । त्यस पछि ५ दलीय गठबन्धनको समर्थनमा एकिकृत समाजवादीका राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्