विराटनगर । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् ।
राजधानीका हलहरुले ठूलो पर्दामा विश्वकप फुटबल देखाईने भएपनि विराटनगरका हलहरुमा त्यो सुविधा नहुने भएको छ । शुक्रबार पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ ।
नेपालीले टेलिभिजनमा मात्र फुटबल हेर्दै आएका छन् । काठमाण्डौंमा फिल्म हलको ठूलो पर्दामा विश्वकप फुटबलको आनन्द लिन सुविधा रहेको छ । ठूला मल्टिप्लेक्सले मिडिया हबसँग फुटबल देखाउने सहमति गरेका छन् । तर, विराटनगरका हलहरुले यो सुविधा लिन सकेनन् ।
विराटनगरको भाटभटेनी क्यूएफएक्स, सेन्ट्रलमल र सिटी सिनेमाका अप्रेशन मेनेजरहरुले मिडिया हबसँग पैसाको कुरा नमिल्दा यो सुविधा दिननसकेको बताएका छन् । तर, फाइनल खेल देखाउनका लागि अहिले पनि कुरा चलिरहेको कतिपयका हलका व्यवस्थापकले बताएका छन् ।