प्रदेश १ का ३७ समानुपातिक सिटमध्ये ३१ जना महिला

प्रदेश १ का ३७ समानुपातिक सिटमध्ये ३१ जना महिला

सुजता लिम्बू
विराटनगर । प्रदेश १ मा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरुको नाम लगभग टुंगो लागेको छ । प्रत्यक्षमा पुरुषले धेरै अवसर पाएपनि समानुपातिकमा ३३ प्रतिशतको बाध्यमक प्रावधानले महिलाको संख्या धेरै रहेको छ ।

प्रदेशका ३७ समानुपातिक संसदमध्ये ३१ जना महिला मात्रै छन् । प्रदेश १ मा समानुपातिक उम्मेदवार छनौट गर्दा आदिवासी जनजातितर्फ ४६.७९ प्रतिशत, खसआर्य २७.८४ प्रतिशत, दलित १०.०६ प्रतिशत, थारु ४.१५ प्रतिशत, मधेसी ७.५७ प्रतिशत, मुस्लिम ३.५९ प्रतिशत हुनुपर्ने कानुनी प्रावधान अनुसारको नामहरु छनौटमा पर्ने भएका हुन् । निर्वाचितमध्ये १७.५३ प्रतिशत अल्पसंख्यक रहनु पर्दछ ।

निर्वाचन आयोगमा दलहरुले बुझाएको बन्द सूचिका आधारमा शनिबारसम्ममा निर्णय गरेर पठाइसक्नुपर्ने छ । निर्वाचन आयोगको सू्ची अनुसार प्रदेश १ मा दलहरु नम पठाउने छन् ।

एमालेबाट
प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ सिट र समानुपातिकतर्फ १५ सिट जितेको छ । प्रदेश १ मा प्रत्यक्षतर्फ एक जना पनि महिला एमालेबाट निर्वाचित छैनन् । समानुपातिकतर्फ १५ सिटमध्ये १३ जना महिलालाई एमालेले सिफारिस गर्नुपर्नेछ । एमालेले पाएको मतका आधारमा १५ सिटमध्ये २ पुरुष र १३ महिला छन् । त्यसमा ७ जना आदिवासी जनजाति र ४ जना खसआर्यलाई पठाउनुपर्नेछ । यस्तै दलित, मधेशी, थारु र मुस्लिमतर्फ १–१ जनाको प्रतिनिधत्व हुनेछ ।

एमालेको समानुपातिक सुचीमा रहेकामध्ये पुरुषहरुतर्फ खसआर्यको पहिलो नम्बरमा रहेका ओखलढुंगाका किशोरकुमार अधिकारी र आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका पाँचथरका श्रीप्रसाद जवेगु छन् । एमालेले श्रीप्रसाद जवेगुलाई सांसद नबनाएको अवस्थामा भने भोजपुरकी बन्दना राईले पनि अवसर पाउनेछिन् ।
एमालेको बन्दसुचीमा रहेका ६ महिलाले प्रदेश सभा सदस्य बन्ने अवसर पाउने देखिन्छ । जसमा उदयपुरकी ४६ वर्षीया सृजना दनुवार, झापाकी ५९ वर्षीया कमला थापा मगर, सुनसरीकी ४७ वर्षीय मिना श्रेष्ठ, भोजपुरकी ३८ वर्षीया सिर्जना राई, मोरङकी ६७ वर्षीया मालतीकुमारी लिम्बू र धनकुटाकी ४६ वर्षीय मनकुमारी तितुङ छन् ।

खसआर्यतर्फ किशोरकुमार अधिकारीलाई छनौट गरेमा महिलाबाट ३ जनाले अवसर पाउनेछन् । जसमा मोरङकी ६१ वर्षीया शिला दिक्षित कार्की, झापाकी ६६ वर्षीया तारादेवी ढकाल र सुनसरीकी ५७ वर्षीया निरादेवी खनाल छन् । खनाल एमाले नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यकी श्रीमती हुन् । पुरुषतर्फ खसआर्यका अधिकारीलाई एमालेले नचुनेमा उदयपुरकी गितादेवी रेग्मीले अवसर पाउनेछिन् ।
यस्तै दलिततर्फ तेह्रथुमकी ४९ वर्षीया कमलादेवी दर्नाल, मधेशीतर्फ मोरङकी ४० वर्षीया गितारानी महतो, थारुबाट मोरङकै ५१ वर्षीया ललिताकुमारी चौधरी, र मुस्लिमबाट मोरङकै ३८ वर्षीया नुर सदि बेगमलाई पठाउनेछ । समानुपातिकको बन्दसुचीबाट एमालेले ३ जना अल्पसंख्यकलाई अनिवार्य प्रदेशसभामा पठाउनुपर्छ । एमालेको बन्दसुचीमा अल्संख्यकतर्फ झापाका नम्बरलाल धिमाल, विद्यानन्दसिंह राजवंशी, उदयपुरकी सृजना दनुवार, सुनसरीकी यशोदा कायस्थ, संखुवासभाकी लहरुमाया जीमी र मोरङका अरुणकुमार राठीको नाम छ । उनीहरुमध्ये सुचीक्रममा रहेकी दनुवार प्रदेशसभा सदस्य बन्नेछन् भने बाँकी २ जना एमालेले छान्न पाउनेछ ।
अल्पसंख्यकतर्फ एमालेले धिमाललाई चयन गरेमा श्री जवेगु बाहिरिनेछन् भने कायस्थलाई चयन गरे धनकुटाकी मनकुमारी तितुङको नाम संकटमा पर्नेछ । यस्तै अल्संख्यकतर्फ अरुणकुमार राठीको नाम चयन भए अर्को एक जना पुरुषको मात्र नाम पर्नेछ भने गितारानी महतो बाहिरिनेछिन् ।

काँग्रेसमा
काँग्रेस तर्फबाट पनि प्रत्यक्षतर्फ कुनै महिलाले चुनाब जितेका छ्रनन् । त्यसैले समानुपातिकतर्फ पाएको १२ सिटमध्ये १० जना महिलालाई प्रदेशसभामा पठाउनुपर्नेछ ।
काँग्रेसले समानुपातिकतर्फ १२ सिटमध्ये २ पुरुष र १० महिलामा ६ जना आदिवासी जनजाति र ३ जना खसआर्यलाई पठाउनुपर्नेछ । यस्तै दलित, मधेशी र थारु १–१ जनाको प्रतिनिधत्व हुनेछ ।
काँग्रेसको समानुपातिक सुचीमा रहेकामध्ये पुरुषहरुतर्फ खसआर्यको पहिलो नम्बरमा रहेका झापाका उद्धब थापा प्रदेशसभा सदस्य बन्ने निश्चित छ । ६४ वर्षीय उनी काँग्रेस प्रदेश समितिका सभापति हुन् । काँग्रेसले पाउने अर्को पुरुष कोटामा झापाकै मोहन महर्जनको संभावना छ ।

महर्जनलाई प्रदेशसभामा पठाएमा काँग्रेसले आदिवासी जनजातितर्फ थप ५ महिलालाई प्रदेशसभामा पठाउनुपर्छ । पाँचथरकी ४४ वर्षीया मैया श्रेष्ठ, सोलुखुम्बुकी ४० वर्षीया डोल्मा तामाङ, उदयपुरकी ६२ वर्षीया लिलाकुमारी राई, सुनसरीकी ४२ वर्षीया ममता मगर तामाङ र मोरङकी ४७ वर्षीया शोभा चेम्जोङ पालुङ्वा प्रदेशसभा सदस्य बन्नेछन् । पुरुषतर्फका महर्जनलाई काँग्रेसले प्रदेशसभामा नपठाएमा सुनसरीकी अनु गुरुङले अवसर पाउनेछन् ।

खसआर्यतर्फ पुरुषमा उद्धव थापालाई पठाएपछि काँग्रेसले थप २ महिला मात्र खसआर्यबाट प्रदेशसभामा पठाउनेछ । उनीहरु धनकुटाकी ५४ वर्षीया इन्दिरा थापा र इलामकी ४९ वर्षीया खगेश्वरी पौडेल छन् । यदि उद्धव थापालाई प्रदेशसभामा काँग्रेसले नपठाएमा धनकुटाकी सुमना तिम्सिनाले अवसर पाउनेछिन् ।

काँग्रेसबाट दलित कोटामा सनुसरीकी ४२ वर्षीया सुनितकुमारी गुरुङ, थारु कोटामा सुनसरीकै ४२ वर्षीया सुनिता गच्छदार र मधेशी कोटामा झापाकी ४८ वर्षीया लखिकुमारी गणेश प्रदेशसभा सदस्य बन्नेछन् ।

माओवादी
संविधान अनुसार प्रदेशसभामा समानुपातिक उम्मेदवार छान्दा प्रत्यक्ष र समानुपातिक विजयी संख्याको ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्छ । १३ सिटमध्ये प्रत्यक्षमा कोही पनि महिला निर्वाचित नभएकोले ४ जना नै महिलालाई माओवादी केन्द्रले पठाउनुपर्नेछ । निर्वाचन आयोगले निर्धारण गरेको क्लस्टर अनुसार कुनैपनि दलले ४ जना समानुपातिक सिट प्राप्त गरेमा उनले २ जना जनजाति, १ खसआर्य र १ दलितको प्रतिनिधित्व गराउनुपर्छ । त्यसमा १ जना अल्संख्यक समुदायको पनि हुनुपर्ने व्यवस्था रहेको छ ।

यो व्यवस्था अनुसार प्रदेशसभामा माओवादीले निर्वाचन आयोगमा बुझाएको बन्दसुची अनुसार आदिवासी जनजाति कोटामा पहिलो नम्बरमा नाम भएकी झापाकी बन्दना झाँगर, आदिवासी जनजातिको दोस्रो नम्बरमा नाम भएकी उदयपुरकी सम्झना तामाङ थाम्सुहाङ, खसआर्यको पहिलो नम्बरमा नाम भएकी मोरङकी गीता तिम्सिना र दलिततर्फ पहिलो नम्बरमा नाम भएकी सुनसरीकी सपना दर्जी प्रदेशसभा सदस्यमा निर्वाचित हुने भएका छन्। उनीहरुमध्ये झाँगर अल्पसंख्यकसमेत हुन् ।
४० वर्षीया तिम्सिना र ३६ वर्षीया दर्जी पार्टीको केन्द्रीय सदस्य छन् भने ३६ वर्षीया झाँगर र ४० वर्षीया तामाङ प्रदेश समिति सदस्य हुन् ।

राप्रपा, एस र जसपा
प्रदेशसभाको प्रत्यक्षतर्फ २ सिट जितेको राप्रपाले समानुपतिकमा ४ सिट पाएको छ । प्रत्यक्षतर्फ राप्रपाको एक महिलाले चुनाब जितेको छ । यसले गर्दा समानुपतिकतर्फको ४ जना १ महिला र ३ पुरुषलाई प्रदेशमा पठाउन सक्छ ।
राप्रपाले समानुपतिकतर्फको ४ सिटमा २ आदिवासी जनजाति, एक दलित र एक खसआर्य पठाउनुपर्नेछ । समानुपतिक बन्दसुची अनुसार पाँचथरका ६० वर्षीय प्रेमराज थाम्सुहाङ र झापाकी ४१ वर्षीया निमसरी राजवंशी आदिवासी जनजाति कोटामा प्रदेशसभा सदस्य हुने निश्चित देखिएको छ । यस्तै झापाका ६८ वर्षीय अम्बरबहादुर विष्ट खसआर्य कोटामा र झापाकै ६५ वर्षीय गोपालबहादुर विश्वकर्मा दलित कोटामा प्रदेशसभा सदस्य हुने भएका छन् ।

प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सिट जितेको एकीकृत समाजवादीले समानुपतिकतर्फ १ सिट जितेको छ । प्रत्यक्षमा जित्नेमध्ये १ महिला रहेकोले उसले समानुपातिकको सिटमा महिलालाई नै पठाउनु पर्नेछ । समाजवादीबाट मोरङकी ५६ वर्षीय विद्या चाम्लिङ प्रदेशसभा सदस्य हुनेछिन् ।
यसैगरी प्रत्यक्षमा कुनै सिट नजितेको जसपाले समानुपातिकतर्फ १ सिट पाएको छ । सो सिटमा जसपाले ताप्लेजुङकी निर्मला लिम्बूलाई प्रतिनिधित्व गराउनेछ ।

समानुपातिकमा कसको कति मत
प्रदेश १ मा नेकपा एमालेले एमालेले ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेकोमा उसले १५ सिट पाएको छ भने काँग्रेसले ५ लाख ६२ हजार ९५६ मत प्राप्त गर्दा १२ सिट पाएको छ । यस्तै माओवादी केन्द्रले १ लाख ८१ हजार २४५ मत पाएर ४ सिट र राप्रपाले पनि १ लाख ९८ हजार ५११ मत प्राप्त गरि ४ सिट पाएको छ । जसपाले ६१ हजार ७२३ मत पाएर १ सिट र नेकपा एकीकृत समाजवादी ५५ हजार ९५७ मत पाएर १ सिट पाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्