विराटनगर । आईडिया कन्टेस्ट २०७९ को अन्तिम चरणको आईडिया पिचिङ कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरको आयोजना तथा स्वीस कन्टेक्ट र आसमान नेपालको साझेदारीमा संचालित परियोजनाको सहयोगमा नेपाली युवा उद्यमी मंच आईडिया कन्टेस्ट २०७९ को अन्तिम चरणको आईडिया पिचिङ कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार कार्यक्रम विराटनगरस्थित एस्पायर कलेजमा अध्ययनरत हेमन्त स्वणर्कार र तुषार गणेशको नियर हेयर आईडिया उत्कृष्ट भएको छ ।
पहिलो चरणमा छनौट भएका विभिन्न आठ कलेजका विद्यार्थीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा भिन्न भिन्न व्यवसायसंग सम्वन्धित फरक आईडियाहरु पिचिङ गरेका थिए । प्रत्येक विद्यार्थीहरुलाई उपलब्ध गराईको दश मिनेटको समयमा सेवामूलक, वस्तु उत्पादनमूलक व्यवसायका सम्वन्धमा आफनो आइडिया प्रस्तुत गरी उक्त वस्तुको व्यवसायीक विकास र लगानीको सम्भावना, उपलब्ध बजार लगायतका विषयमा विस्तृत रुपमा जजहरु समक्ष प्रस्तुती गरेको थिए ।
कार्यक्रममा युवा उद्यमी मंच विराटनगर च्याप्टरका अध्यक्ष राघव कोईरालाले यस्तो किसिमको कार्यक्रमले नविन सोच भएका युवाहरुलाई उद्यमशिलता र नेतृत्व विकासमा सहयोग पुर्याउने विश्वासका साथ युवा उद्यमी मंचले कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रम संयोजक नविन झुनझुनवालाले उद्यमशिलताको प्रारम्भ विचारबाट हुने बताउदै आईडिया कन्टेस्ट २०७९ले आगामी दिनमा युवाहरुलाई उद्यमशिलता विकास तर्फ अभिप्रेरित गर्ने बताए ।
युवाहरुलाई उद्यमशिलता विकासमा टेवा पुर्याउने लक्ष्यका साथ आयोजना गरिएको कार्यक्रममा प्रध्यापक डाक्टर विजु थपलिया, उद्योग संगठन मोरङ महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओली, वैंकर्स शर्मिला हुमागाई, युवा उद्यमी मंच ईटहरी च्याप्टरका अध्यक्ष सन्तोष आचार्य,आसमान नेपालका पुष्प पोखरेल जज पेनलका रुपमा रहेका थिए ।