विराटनगरमा बढ्यो तस्करी, प्रहरीकै अगाडी तस्करले कुटे भन्सारका कर्मचारी

विराटनगरमा बढ्यो तस्करी, प्रहरीकै अगाडी तस्करले कुटे भन्सारका कर्मचारी

विराटनगर । विराटनगरमा प्रहरीको सेटिङमा तस्करी मौलाएको छ । विराटनगर भन्सार कार्यालयले चोरी पैठारी नियन्त्रणमा प्रहरीले असहयोग गरेको भन्दै भन्सार विभाग र अर्थमन्त्रालयसँग उचित सुरक्षाको सहयोग आवश्यक परेको बताएको हो ।

भन्सार कार्यालयको गस्तीमाथि शुक्रबार राती तस्करहरुको समूहले आक्रमण गरेका छन् । भन्सार कार्यालयको कार्यक्षेत्र भित्र पर्ने ३ नम्बर गेट सीमा प्रहरी चौकी रानीको अगाडीबाट तस्करी भईरहेको सूचना पाएपछि नियन्त्रणमा लिन गएका कर्मचारीलाई तस्करले हुलहुज्जत गर्दा प्रहरी मुखदर्शक भएको आरोप भन्सार कार्यालयको छ ।

दुईवटा मालवहाक सवारी सीमा प्रहरी चौकी रानी अगाडी रोकिएको र भारतबाट १५ जनाको समूहमा आएका व्यक्तिहरुले लोड भएको गाडीबाट सामान तस्करी गरेर सीमा कटाउने गरेको बेला भन्सारको टोलि पुगेको थियो । त्यसबेला भन्सार गस्तीमा खटिएको टोलिमाथि तस्करको उक्त समूहले आक्रमण गरेर गाडी तथा तस्करी भईरहेको सामान समेत खोसेका थिए ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले प्रहरीको मिलेमतोमा तस्करी मौलाएको र नियन्त्रणको प्रयासमा सहयोग नगरेको भन्दै आवश्यक सुरक्षा सहयोगका लागि नेपाल सरकारलाई गुहार्दै विज्ञप्ती समेत जारी गरेका छन् । उनले भनेका छन्, चालु आर्थिक वर्षमा राज्यको राजस्व लक्ष्यको तुलनामा प्रगति अत्यन्तै न्यून भएकोले त्यसको बृद्धिको वैकल्पिक उपाय अवलम्बन गर्दा तस्करहरुले आक्रमण गर्ने स्थिति आएको विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले तस्करहरुले ज्यान मार्ने धम्की दिएकोले आईसीपीबाट ६ किलोमिटर दुरीमा रहेको क्वाटरसम्म पुग्न समेत समस्या हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सीमा प्रहरी चौकी रानीको मूल गेट अगाडी भएको घटना सिसी टिभी फुटेजमा समेत रेकर्ड रहेको भन्दै भन्सार प्रमुख सापकोटोले सुरक्षा व्यवस्था कडा पार्दै चोरी तस्करी नियन्त्रणका लागि पहल गरिदिन माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्