विराटनगर भन्सारले तस्करी रोक्न वडाअध्यक्षसँग माग्यो सहयोग

<span class='c1'>विराटनगर भन्सारले तस्करी रोक्न</span> <span class='c2'>वडाअध्यक्षसँग माग्यो सहयोग</span>

विराटनगर । मोरङमा सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा स्थानीय तहका जनप्रतिनिधिसँग समेत सहयोग मागिएको छ ।

सुरक्षाको बाक्लो उपस्थिति रहेको विराटनगर महानगरपालिका क्षेत्रका दरैया, मटेर्वा, इस्लामपुर नाकाबाट हुने अवैध चोरी पैठारीका नियन्त्रणका लागि विराटनगर भन्सार कार्यालयले स्थानीय तहका जनप्रतिनिधिसँग समेत सहयोग मागेको हो ।

सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारीमा महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रयोग गर्न थालिएपछि त्यसको नियन्त्रणमा स्थानीय तहको सहयोग माग गरिएको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार आइतबार राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सीमा क्षेत्रसँग जोडिएका विराटनगर १५, १६, १७ र १८ नम्बर वडाका अध्यक्षहरुलाई समेत आमन्त्रित गरेर सुझाव तथा राय मागिएको छ ।

राजस्व चुहावट नियन्त्रण समितिको संयुक्त बैठकमा वडा अध्यक्षहरुलाई आमन्त्रित गरेर सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा सहयोग गर्न माग गरिएको प्रमुख सापकोटाले जानकारी दिनुभयो । बैठकमा वडा अध्यक्षहरुले सीमा क्षेत्रका नागरिक तस्करका कारण सुत्न नपाएको गुनासो गर्नु भएको छ, भन्सार प्रमुख सापकोटाले भन्नुभयो–हामीले सीमा क्षेत्रमा तस्करीमा प्रयोग गरिएका बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिहरुको विवरण संकलन गरिदिन माग गरेका छौं ।

तस्करहरुले सीमा क्षेत्रका नागरिकलाई प्रयोग गरेर अवैध चोरी तस्करी गर्दै आएका छन् । महिला तथा बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुले जोगबनीबाट सामान लिएर आउँदा नियन्त्रण गर्ने अवस्था समेत सहज नभएको भन्दै सुरक्षा निकायले छोड्दै आएका छन् । भन्सार कार्यालयले भने मुख्य तस्करले तस्करीमा प्रयोग गरेका महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुको पिछा गरेर सुरक्षा संयन्त्रले भण्डारणमा छापा मार्न नसकेको आरोप लगाउँदै आएको छ ।

यसैगरी राजश्व चुहावट नियन्त्रण समितिको बैठकले आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुखको संयोजकत्वमा गठन भएको बजार अनुगमन समितिलाई सक्रिय बनाउने निर्णय गरेको छ । अघिल्लो महिनाको बैठकले गठन गरेको अनुगमन टोलिले एक महिनासम्म कुनैपनि काम नगरेको भन्दै आगामी महिना प्रगति प्रतिवेदनसहित बैठकमा उपस्थित हुन निर्देशन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकले गत शुक्रबार साँझ विराटनगर–१५ स्थित भन्सारको ३ नम्बर गेटमा तस्करहरुले गरेको हुलहुज्जतको घटनालाई छानविन गर्ने निष्कर्ष निकालेको छ । त्यसमा संलग्नको पहिचान गरेर नियन्त्रणमा लिने, प्रहरीको भूमिकाको विषयमा छानविन गरेर प्रतिवेदन बुझाउने लगायतका छन् ।

शुक्रबार भएको घटनामा संलग्न आरोपमा मोरङ प्रहरीले एकजनालाई नियन्त्रणमा लिएर सोमबार भन्सार कार्यालयमा बुझाएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार घटनामा संलग्न आरोपमा विराटनगर–१७ का मोहमद सदाम मियाँलाई तस्करीको सामान लोड गरेको गाडीसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा परेका मियाँलाई भन्सार कार्यालय विराटनगरको मुद्दा शाखाले अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्