शुक्रअन्द भएपछि डन्डी उद्योगमा सकारात्मक छन्द

शुक्रअन्द भएपछि डन्डी उद्योगमा सकारात्मक छन्द

विराटनगर । सरकारी विकास निर्माणको कामको सुस्तताले निर्माण सामाग्रीको उत्पादनमा पारेको प्रभावलाई पञ्चाङ्गको साइतले केहि राहत दिएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका स्टिल एण्ड आईरन उद्योगमा मंसिर लागेपछि त्यसको सकारात्मक प्रभाव देखिएको हो ।
उद्योगीहरुका अनुसार कोरोनाकाल र चालु आर्थिक वर्षको बजेट नीतिमा स्टिल उद्योगलाई कसिएको गाँठो खुकुलो भएपछि केहि सुधारको संकेत मंसिरमा देखा परेको छ । तर, कोरोनाकाल भन्दा अगाडीको अवस्थामा अहिलेपनि फर्किसकेको भने छैन ।

प्रिमियर स्टिल उद्योगका सञ्चालक उद्योगी पवनकुमार शारडाका अनुसार करिडोरका पाँच उद्योगको उत्पादन गत जेठयता २० प्रतिशतको हाराहारीमा खुम्चिएको थियो । मङ्सिर लागेपछि त्यो ४० प्रतिशतको हाराहारीमा पुगेर सुधारको संकेत देखा परेको हो ।
उद्योगी शारडाका अनुसार प्रदेश १ मा तीनलाख टन डण्डीको मार्केट थियो । त्यस बाहेक मधेश प्रदेशमा पनि सुनसरी–मोरङ औद्योगिक करिडोरको उत्पादनको माग थियो । अहिले प्रदेशको बजारमा एकलाख टन डण्डी मात्रै खपत भईरहेको छ । करिडोरका उद्योगहरुको जम्मा क्षमता भने ६ लाख टन रहेको छ । कम्तीमा तीनलाख टनको खपत प्रदेशस्तरमा हुँदा मात्रै फलाम उद्योगमा भएको लगानीमा आसा उद्योगी शारडाको भनाई छ ।

सरकारले विकास बजेट खर्च गर्नै सकेको छैन, खर्च हुँदा पनि जेठ र असारमा बढी हुन्छ उद्योगी शारडाले भन्नुभयो–पूर्वाधारका काम नहुँदा स्टिल उद्योगको लगानी र त्यसले सिर्जना गर्ने रोजगारी मन्द छ । तर, मंसिर लागेपछि व्यक्तिगत घरहरु निर्माणको काम सुरु भएका छन् । निजी घर निर्माणलाई वर्षा, चाडपर्व, सोह्रश्राद्धदेखि शुक्रअस्तको छेकबार भएका कारण निर्माण सामाग्रीको माग न्यून भएको थियो ।

निर्माण सामाग्रीको खपत हुने सिजनको रुपमा मंसिर–जेठसम्मलाई नै मानिन्छ । यदि सरकारी कोषबाट निर्माण हुने पूर्वाधारको कामले गति लिएमा उद्योगहरुको क्षमता अनुसारको उत्पादन गर्नुपर्ने स्वस्तिक रोलिङ उद्योगका सञ्चालक रमेश राठीको भनाई छ । तर, अति सुस्ताएको कारोबार मंसिर लागेपछि भने केहि फस्टाएकोले आसा जगाएको उहाँले बताउनुभयो ।

निर्वाचन सम्पन्न भएपछि अब नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । नयाँ सरकारले पूर्वाधारमा गर्नुपर्ने खर्चलाई समयदेखि नै ध्यान दियो भने कोरोलाकालपछि फेरिएको स्थितिमा सुधार आउने बुझाई उद्योगीहरुको छ ।
मंसिर ७ गतेपछि शुक्रअन्द भएको छ । घर बनाउने साइत मंसिरमा सुरु भएकोले जेठ यताकै केहि सकारात्मक संकेत देखा परेकोले डण्डी र सिमेन्ट उद्योगले उत्पादन क्षमता बढाउन थालेका हुन् । जेठ १५ गतेको बजेटबाट मोरङका तीन उद्योगले उत्पादन क्रमशः कटौती गर्दै असोजदेखि बन्द राखेका थिए । त्यसमध्ये कमला स्टिल र आरती स्ट्रिप्सले उत्पादन सुरु गरेका छन् । कमला स्टिलका सञ्चालक जगदीश अग्रवालले सिजनदेखि सिजनसम्म भएपनि उत्पादन गर्ने योजनासहित मेसिन चलाउन थालिएको छ ।
मंसिर लागेपछि स्थानीय तहले धमाधम कित्ताकाट समेत खुलाएका छन् । जग्गा कारोबारीदेखि घर निर्माण गर्नेसम्मका लागि त्यसले बाटो खोलिदिएपछि उद्योगका उत्पादनको माग बढ्न थालेको हार्डवेयर पसलका सञ्चालकहरुको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्