विराटनगर । ‘मलाई राजनीति के हो ? थाहा थिएन । तर, पहिचानका लागि म १४ वर्षको उमेर देखि लागि परे ’ उनले हाँस्दै सुनाइन् । यतिबेला प्रदेश १ सरकार गठनको निर्णायक भूमिकामा रहेको जसपाकी एक्ली समानुपातिक सांसद ताप्लेजुङकी निर्मला लिम्बू गफैगफमा राजनीतिक यात्रा आरम्भको विषयबाट सरु भईन् ।
प्रदेश १ मा प्रत्यक्ष तर्फ शुन्य रहेको जसपा समानुपातिकमा एकजना सांसद त्यसमा पनि आफू यति महत्वपूर्ण र निर्णायक स्थानमा हुन्छु भन्ने उनलाई लागेको थिएन । तर, पछिल्लो समयको राजनीतिक समिकरणले आफ्नो पार्टीको भूमिका निर्णायक स्थानमा रहेको बताउने उनी पार्टीको ठोस निर्णय बाहेक आफूले केही बोल्न नसक्ने बताउछिन् । त्यसो त पछिल्लो समय प्रदेश १ को नामकरण भूगोल या पहिचान भन्ने विषय पेचिलो बन्दै गएको अवस्थामा निर्मलाले आरम्भ गरेको राजनीतिक धार पहिचान भएकाले उनी विपक्षी दल एमाले तर्फ उभिने या सत्ता गठबन्धन तर्फ उभिने भन्ने अझै तय भइसकेको छैन । उनी जुन दल तर्फ उभिन तयार हुन्छिन् त्यही दलको नेतृत्वमा प्रदेश १ मा सरकार बन्छ । ‘म बाल्यकाल देखि नै पहिचानको राजनीति गर्दै आए, र अहिले पनि निरन्तर राजनीतिक यात्रामा नै छु’उनी हाँस्दै सुनाउछिन्,‘प्रदेश १ म अर्थात मेरो पार्टी निर्णायक रहेछ, यो पोजिसनमा हुन्छु भन्ने मलाई लागेको थिएन, अब पार्टीको धारणा के आउछ त्यहि अनुसार मेरो निर्णय रहन्छ ।’ कुमार लिङदेन नेतृत्व लिम्बुवान पार्टी बाट विद्यार्थी राजनीति गरेकी लिम्बू अहिले जसपाको पोलिटब्युरो सदस्य र प्रदेश सहइन्चार्जको भूमिका निर्वाह गरिहेकी छिन् ।
यस्तो छ संसद संख्या :
प्रदेश १ मा एमालेले प्रत्यक्षमा २५ वटा सिटमा जितेको छ भने समानुपातिकमा पनि १५ सिट जितेको छ। प्रदेश १ मा एमालेको ४० सिट हुनेछ। यस्तै नेपाली काँग्रेसले प्रत्यक्षमा १७ सिट जित्दा समानुपातिकमा १२ सिट ल्याएको छ । प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक गरी २९ सिट प्राप्त गर्दै नेपाली काँग्रेस दोस्रो ठूलो दल बनेको छ। यता नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षमा ९ सिट जित्दा समानुपातिकमा ४ सिट मात्रै जितेको छ। प्रत्यक्ष र समानुपातिक गरी माओवादीले प्रदेश १ मा १३ सिट पाई तेस्रो पार्टी बनेको छ। राप्रपाले प्रत्यक्षमा २ सिट जित्दा समानुपातिकमा ४ सिट जितेको छ। अघिल्लो निर्वाचनमा १ जना मात्रै सांसदले प्रतिनिधित्व गरेको राप्रपाले यो पटक भने ६ जनाले प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन्। अघिल्लो निर्वाचनमा प्रत्यक्षबाट १ जना र समानुपातिकबाट २ जनाले प्रतिनिधित्व गरेको जनता समाजवादी पार्टीे प्रत्यक्षमा शून्य छ। एमाले विभाजन भई बनेको समाजवादीका अघिल्लो प्रदेशसभामा १० जना सभासद् थिए। यो निर्वाचनमा प्रत्यक्षमा ३ सिट जितेको छ भने समानुपातिकमा १ सिट पाएको छ। प्रदेश १ सरकार बनाउन आवश्यक ४७ सिट आवश्यकता रहन्छ । यसो हुँदा कुनै दलसँग बहुमत छैन।