विराटनगर । विराटनगरका आँखा अस्पताल तथा चस्मा पसलहरुमा भारतबाट तस्करी गरेर सामान भित्र्याउने गरेको खुलेको छ । प्रहरीले विराटनगर–१६ स्थित जुटमिल छेउमा आइतबार बिहान १ः२५ बजे १२ लाख तीन हजार ४२० रुपैँया मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय सीमाको संयुक्त टोलिले भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सामान बरामद गरेको हो । प्रहरीलाई देख्नासाथ सामान बोकेर आउनेहरु फरार रहेपनि सामान प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिएका छन् ।
बरामद भएको सामानमा ८ लाख ६४ हजार मूल्य बराबरको आँखाको लेन्स १२० थान, औषधी ३४ हजार ८०० मूल्य बराबरको २५० थान समेत रहेका छन् । त्यस बाहेक तस्करी गरेर ल्याउने समूहले चावी ७५० थान ७५ हजार मूल्य बराबरको, थानको कपडा ३४० मिटर १ लाख ७० हजार मूल्य बराबरको, चिया छान्ने एक हजार ३६६ थान २७ हजार ३२० मूल्य बराबरको, कागती निचोर्ने ७३ थान ७ हजार ३०० मूल्य बराबरको र साडी ५० थान २५ हजार मूल्य बराबरको रहेको छ ।