विराटनगर । विराटनगर महानगरपालिकाले लोकसेवा आयोगमा वैकल्पिक तथा अस्थायी योग्यता क्रममा सिफारिस भएका इन्जिनियर तथा सव–इन्जिनियरका लागि सेवा करारमा नियुक्ति गर्ने भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार २०७८÷२०७९ मा लोकसेवा आयोग दिदाँ योग्यता क्रममको सिफारिसमा परेका इन्जिनियर र सव–इन्जिनियरलाई सेवा करारमा नियुक्तिको अवसर दिदैं निवेदन आह्वान गरेको हो ।
महानगरबाट भौतिक पूर्वाधारको कार्य सम्पादन हुने प्रयोजनका लागि माग गरिएका इन्जिनियर र सव–इन्जिनियरले सातदिने भित्र निवेदन दिन माग गरिएको छ । पुस २ गते सार्वजानिक गरिएको सूचना अनुसार तोकिएको मिति भित्र निवेदन दिनेहरुमध्येबाट योग्यताक्रम र यसमा पनि पहिलो दर्ता हुनेमध्येबाट छनौट गरिने उल्लेख छ । लोकसेवा आयोग काठमाण्डौं, इलाम, धनकुटा तथा प्रदेश १ लोकसेवा आयोगमा परीक्षा दिएर वैकल्पिक र अस्थायी योग्यताक्रममा परेकाहरुले यो अवसर पाउने छन् ।
जसका लागि निवेदनका साथमा प्रदेश पत्रको प्रतिलिपि, नागरिकता प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि, इन्जिनियरि परिषद् दर्ता प्रतिलिपि, वैकल्पिक तथा अस्थायी योग्यताक्रममा सिफारिस भएको विवरण समेत संलग्न अनुरोध गरिएको छ । काठमाण्डौं महानगरपालिकाले लोकसेवा दिएर सिफारिसमा परेकाहरुलाई करार सेवामा नियुक्ति दिने अवसर सिर्जना गरेपछि विराटनगर महानगरपालिकाले निर्विवाद नियुक्तिको प्रक्रिया थालेको हो ।