विराटनगर । बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. सञ्जिव शर्मा नियुक्त भएका छन् । उनको नियुक्तिसँगै पदाधिकारी समूहले पूर्णता पाएको छ ।
बिपी प्रतिष्ठानको ऐन २०४९ को दफा ११ ग को उपदफा १ र प्रतिष्ठान नियामवली २०५५, को नियम ८, १ बमोजिम उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति तथा स्वास्थ्य मन्त्री भवानी खापुङले प्रा.डा. शर्मालाई नियुक्त गरेका हुन् । प्रा.डा. शर्मा मृगौला, मुटु रोग विशेज्ञ हुन् ।
प्रतिष्ठानकातर्फबाट सिनेटरहरुमा प्रा.डा. निलाम्बर झा र सहप्राध्यापक डा. नारायणराज भट्टराई नियुक्त भएका छन् । डा. झा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रोफेसर हुन् । भट्टराई माइक्रोबायोलोजी विभागका प्रमुख हुन् ।
प्रतिष्ठानमा उपकुलपति डा. गिरी, शिक्षाध्यक्ष प्रा.डा. शर्मा, रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला र अस्पताल निर्देशक जगतनारायण प्रसाद छन् । शिक्षाध्यक्ष नियुक्तभएपछि प्रा.डा. शर्माले प्रतिष्ठान व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन सामूहिक प्रयास गर्ने प्रतिक्रिया दिएका छन् ।