सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला

सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताउनुभएको छ ।

नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह गर्नुभएको छ । “सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ सङ्कल्प गछौँ,” उहाँले भन्नुभयो ।

नेता डा कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तारोहण अपेक्षित नभए पनि बहुमत जुटाएर प्रधानमन्त्री बनेको भन्दै उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले संसद्को तेस्रो शक्ति भए पनि माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था आउनुलाई अराजनीतिकको संज्ञा दिनुभएको छ । “संसद्बाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन”, नेता कोइरालाले भन्नुभएको छ ।

संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनेर पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी असम्भव भयो भनेर गम्भीर प्रश्न उठेको उहाँको भनाइ छ । “हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आम नेपालीमाझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,” उहाँले भन्नुभएको छ ।

उहाँले कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गरेको भन्दै निराश नहुन सबैलाई आग्रह गर्नुभएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्