विराटनगर । विराटनगर महानगरपालिकाले पुरानो गुद्री बल्ततल्ल खाली गराएको छ । प्रदेश लगानी प्राधिकरणले व्यवसायिक भवन निर्माणको लागि सम्झौता गरेको १४ महिनापछि महानगरपालिकाले जग्गा खाली गराएको हो ।
महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा १५ तलाको व्यवसायिक भवन निर्माण गर्ने सम्झौता २०७८ कार्तिकमा भएको थियो । भवन निर्माणका लागि विराटनगर–९ मा रहेको पुरानो गुद्री भएको स्थानलाई छनौट गरिएको थियो ।
महानगरको स्वामित्वमा रहेको १४ कठ्ठा जग्गामा व्यसायिक कम्प्लेक्स बन्नेछ । सम्झौता भएको तीन महिनापछि देखि परियोजनाको काम सुरु गर्ने उल्लेख थियो । तर, त्यहाँ लामो समय व्यापार गरेर बस्दै आएका व्यापारिले स्थान्तरणको लागि समय माग गरेपछि स्थान उपलब्ध गराउन ढिला भएको छ । पाँच अर्ब बढीको लगानीमा बन्ने भनिएको कम्प्लेक्स निर्माणस्थलमा अझैपछि फाट्टफुट्ट तरकारी व्यापारी बस्दै आएका छन् ।
पुरानो गुद्रीको स्थान्तरण विराटनगर–११ म सरेको छ । नयाँ गुद्री पूर्ण रुपमा सञ्चालनमा आएपनि पुरानो गुद्रीका केहि व्यापारी अझै हट्न आनाकानी गरेपछि महानगरले बल प्रयोग गरेर हटाएको हो ।
मंगलबार दिउँसो उनीहरुलाई त्यहाँबाट हट्न आग्रह गरेको महानगरले बुधबार बिहान ५ बजेदेखि नै नेपाल प्रहरीको सहयोगमा त्यहाँको व्यापारीलाई बस्न दिएको छैन । व्यापारीले भने भवन निर्माण हुन नथाल्दासम्म फुटपाथको व्यापार नहटाउन माग गर्दै आएका छन् । तर, भवन निर्माणस्थल पूर्ण रुपमा खाली नहुँदा त्यसको काम प्रभावित हुने भएकोले महानगरले बल प्रयोग गरेर भएपनि खाली गराएको हो ।
तत्कालिन प्रमुख भीम पराजुलीको पालामा नै भवन निर्माण सम्झौता भएको थियो । स्वदेशी लगानीमा बन्ने भवन निर्माण सुरु भएको मितिले तीनवर्षभित्र सकिने दावी छ । अत्याधुनिक भवन निर्माणसँगै महानगरको स्वामित्वमा रहेको जग्गाको प्रयोग व्यवस्थापनसँगै शहरको सुन्दरताले व्यापारमा आधुनिक शैली भित्रने आसा गरिएको छ । विराटनगर महानगरपालिकालाई सार्वजानिक पार्किङको समेत आवश्यकता बढ्दै गएको छ । महानगरले पार्किङसहितको व्यापारिक भवन निर्माण गर्ने तयारी गरेको हो ।