विराटनगर । गुरुङ समुदायले तमु ल्होसार विराटनगरमा पनि मनाएका छन् ।
गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग(हि ल्हो)लाई स्वागत गरी ल्होसार पर्व विराटनगरमा विविध कार्यक्रमको आयोजना गरि मनाएका हुन्।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।