विराटनगर । भारतबाट एउटा सेतो पिकअपमा झण्डै दशलाख मूल्य बराबरको कपडा भित्र्याएको सूचना पाएपछि विराटनगर भन्सार कार्यालयले मंगलबार बिहान गाडीको पिछा ग¥यो । भन्सारको गस्ती टोलि खटिएको सूचना पाएपछि तस्करले पनि फरक रुटमा गाडी मोड्यो । भन्सार गस्ती टोलिको केहि लागेन !
विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार ९३५० नम्बरको सेतो पिकअप भेन अन्ततः विराटनगरको कन्चनबारी हुँदै सुनसरीतर्फ लाग्यो । त्यसबीचमा भन्सारको गस्ती टोलिले नेपाल प्रहरीसँग सहयोग माग्यो तर सहयोग पाएन ।
‘इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षकलाई फोन गरें ‘हाम्रो एरिया हैन’ भन्यो, त्यसपछि मोरङका प्रहरी प्रमुख शान्तिराज कोइरालालाई फोन गर्दा उठेन’ भन्सार प्रमुख सापकोटाले भन्नुभयोे–हैरान भईसकियो भन्या !
विराटनगरबाट एक गाडी कपडा बोकेर सुनसरीतर्फ हानिएको पिकअप भेनलाई सुनसरीमा पक्राउ गर्न सकिन्छ भन्ने प्रयत्न समेत गरिएको थियो । तर, भन्सार गस्तीको टोलिले पिछा गरेको सूचना पाएपछि कारोबारीले भित्री गाउँतर्फ मोडेको आशंका गरिएको छ ।
सरकार फेरिनु अगाडी मोरङमा तस्करीको लाइन खुल्लम्खुल्ला चलिरहेको थियो । त्यसपछि ‘साइलेन्ट’ तस्करीको लाइनमा सेटिङ सुरु भएको आशंका गरिएको छ । भन्सार प्रमुख सापकोटाले सीमा क्षेत्रबाट हुने तस्करीको मोडल पछिल्ला दिनमा फेरिएको दावी गर्नुभयो । मोरङमा सशस्त्र र नेपाल प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर अवैध कारोबारीसँग सेटिङ मिलाएर रकम असुल्दै आएको आरोप छ । नयाँ सरकार बनेपछि सादा पोशाकका प्रहरी हटाएको दावी गरिएपनि लाइन चलाउनेहरुले विभिन्न रुट प्रयोग गर्दा त्यसमा सशस्त्र र नेपाल प्रहरीको सादा पोशाकका प्रहरीको उपस्थिति समेत रहने गरेको आरोप छ ।
मोरङको टंकीसिनवारीस्थित सशस्त्र प्रहरीको ३ नम्बर गणका प्रहरी उपरीक्षक राजकुमार लामिछानेले मंगलबार तस्करी भएर आएको गाडीको पिछा संयुक्त टोलिले गरेको दावी गर्नुभयो । अवैध चोरी निकासी र पैठारीमा भईरहेको बढोत्तरीलाई नियन्त्रण गर्न मोरङका सबै सीमा सुरक्षा पोष्टलाई सक्रिय बनाएको उहाँको भनाई थियो । तर, मोरङको ६३ किलोमिटर खुल्ला सीमानाकाबाट भईरहेको तस्करीमा संस्थागत संलग्नता भएको भन्दै विराटनगर भन्सार कार्यालयले बारम्बार गुनासो दोहो¥याउँदै आएको छ ।
असुली प्रगति प्रभावित हुनुका धेरै कारणमध्ये भारतको मीरगञ्ज पुल क्षतिग्रस्त भएपछि रि–रुट भन्टाबारी आयात–निर्यातसँगै त्यसको आडमा बढेको तस्करी समेतलाई मानिएको छ । भारतले नयाँ बनाएको पुल सञ्चालनमा ल्याएपनि अहिलेको प्रगतिमा सुधार आउनसक्ने भन्सार कार्यालयको बुझाई छ । तर, खुल्ला सीमा क्षेत्रबाट भईरहेको तस्करी नियन्त्रणमा सामुहिक योगदान नभए भन्सार राजश्व असुली सधैं प्रभावित हुने प्रमुख भन्सार अधिकृत सापकोटाको बुझाई छ ।
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको मंसिरसम्ममा ६० दशमलव ९२ प्रतिशत मात्रै राजश्व असुली गरेको छ । लक्ष्यको ३९ दशमलव ८ प्रतिशत कम राजश्व असुलेको भन्सारको मंसिरमा राजश्वको ग्राफ झन् घटेको छ । मंसिरमा ४७ दशमलव ३५ प्रतिशत मात्रै राजश्व असुली भएको हो । यो चालु आर्थिक वर्षको सबैभन्दा कम राजश्व हो ।
चालु आर्थिक वर्ष साउनमा ८० दशमलव ९० प्रतिशत, भदौ ६५ दशमलव २३ प्रतिशत, असोज ५५ दशमलव १३ प्रतिशत, कात्र्तिक ६१ द्यशमलव ४८ प्रतिशत मात्रै राजश्व असुली भएको छ ।