विराटनगर महानगरपालिकाको जुर्मुराउँदो ईच्छाशक्ति

विराटनगर महानगरपालिकाको जुर्मुराउँदो ईच्छाशक्ति

विराटनगर । ग बुधरात राती विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले सडकमा व्यापार गर्ने नागरिकको गुनासो सुनिन् । सडकमा ठेलामा व्यापार गर्नेहरुसँग महानगरपालिकाको नाममा कर असुल्ने गरेको गुनासो आएपछि उनले राती नै त्यसको अनुगमन गरेकी हुन् ।

उनले ‘कसैले पैसा माग्दै आए आफूलाई फोन गर्नु’ भनेर मोवायल नम्बर समेत ठेलामा व्यापार गर्ने नागरिकलाई टिपाइन् । सडकमा व्यापार गरेर जीविकोपार्जन गर्नेहरुले रातको समय समेत नभनी काम गर्ने गर्दछन् । अस्पताल तथा व्यापारिक महलको आसपासमा उनीहरुको केहि न केहि व्यापार हुने गरेको छ । यद्यपी उनीहरुले बनाएका परिकार स्वस्थकर हुन्छन् हुँदैन भन्ने कुरा यसै भन्न सकिदैन । किनकी, धुँवा–धुलोको ‘कन्टामेनिसन’ले त्यस्ता वस्तु नागरिकका स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छन् ।

यस्तै शुक्रबार महानगरपालिकाको सिंगो टिमले सडकमा फोहोर नफाल्न र व्यवसायलाई वैधानिक बनाउन आग्रह गर्दै विराटनगरमा सफाई तथा व्यवसायिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । महानगरका प्रमुख नागेश कोइराला र उपप्रमुख कार्की त्यो अभियानमा आफैं सरिक भएका थिए । त्यससँगै वडा अध्यक्ष र महानगरपालिकाको प्रशासनिक टिम समेत अभियानमा सहभागी भएको थियो ।

अभियानले महानगरलाई कसरी सफा र सुन्दर बनाउने, व्यवसाय गर्नेहरुलाई कसरी वैधानिक प्रक्रियामा जोड्न लक्ष्य राखेको छ । महानगरपालिकाले पसलमै पुगेर व्यापारीका गुनासो र सुझाव संकलन गर्नु सकारात्मक सन्देश पनि हो । जनताको घरदैलोमै पुगेर गुनासो सुन्ने सुझाव संकलन गर्ने अभियानअन्तर्गत पहिलो चरणमा मेनरोडका व्यापारीहरुका गुनासो र सुझाव संकलन गरिएको छ । फुटपाथको अवस्था, फोहोर व्यवस्थापन, बिजुलीबत्ती, महानगरका कर्मचारीबाट सेवाग्राहीलाई गर्ने व्यवहारलगायतका विषयमा जिज्ञासा प्रमुख र उपप्रमुखले राखेका छन् ।

‘हामीसँग केहि गुनासो छ, छ भने भन्नुहोस्’ उपप्रमुख कार्कीले मेनरोडका एक व्यापारीलाई सोधिन् । व्यापारीले अहिले राम्रो छ भनेर प्रतिक्रिया दिएकी थिइन् । जनताकै बीचमा गएर महानगरले प्रवाह गर्ने सेवाका विषयमा जानकारी लिन सुरु गरिएको मेयर कोइरालाले बताए । व्यापारीहरुबाट कर मात्रै संकलन गर्ने नभई उनीहरुको सेवामा समेत ध्यान दिन आवश्यक रहेको कोइरालाको भनाई छ ।

त्यस्तै टोलीले व्यवसाय दर्ता, नवीकरण र फोहोरको सदस्य बने नबनेको समेत अनुगमन गरेको थियो । व्यापारीहरुले पछिल्लो समय फोहोर व्यवस्थापन र फुटपाथमा व्यापक सुधार भएको बताएका छन् । महानगरपालिकालाई नेट र केवलको तारको व्यवस्थापन गर्न सुझाव दिएका थिए ।

यसैगरी विराटनगरमा अर्को महत्वपूर्ण अभियान भनेको सडकको फुटपाथमा थुपारिने निर्माण सामाग्री हटाएर सडकलाई खाली गराउने काम भईरहेको छ । त्यस बाहेक नक्सा पास नगरी बनेका संरचना हटाउने काम समेत महानगरले सुरु गरेको छ । सडक मापदण्ड मिचेर लगाइएका पर्खाल भत्काउने र सीमा निर्धारण गर्ने काम समेत सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्