विराटनगर । विराटनगरबाट पनि वैदेशिक रोजगारीमा जानेहरुलाई व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन थालेको छ । यसअघि श्रम स्वीकृतिको नवीकरण मात्रै हुँदै आएको विराटनगरबाट स्वीकृति सेवा समेत प्रदान गरिएको हो ।
नागरिकलाई प्रविधिमैत्री सेवा दिने भन्दै वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिन थालेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मनत्रालयले जनाएको छ ।
श्रम स्वीकृतिका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने विगतको व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै किसिमका श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेपछि सेवामा आएको सुधारकै निरन्तरता स्वरुप विराटनगर र जनकपुरबाट पनि सेवा विस्तार गरिएको हो ।
‘संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिका लागि समयमा नै आवेदन नगर्ने, श्रम स्वीकृतिका लागि आवेदन गर्नुअघि नै टिकट खरिद गर्ने कम्प्युटर प्रणालीबाट निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली विपरीत अन्तिम समयमा मात्र पेश गर्ने प्रवृत्ति देखिनु प्रणाली सुधारको दृष्टिकोणले उपयुक्त नभएकोले संमयमै आवेदन गर्न समेत सरोकारवाला सबैमा अनुरोध गरिएको छ ।