विराटनगर । प्रहरीले सीमाबाट हुने अवैध चोरी पैठारी र निकासीमा कडाई गर्न थालेको छ । सीमापार भारतीय बजारबाट मालवस्तु भित्र्याएर नेपालमा बिक्री गर्ने समूहमाथि प्रहरीले पछिल्ला दिनमा कडाई सुरु गरेको हो ।
मोरङ प्रहरीले पछिल्लो एक सातामा ७ लाख ३३ हजार १८० मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरू समेतमा मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाध्यान्न, लत्ताकपडा, हार्डवयरको सामान, कस्मेटिक सामान, जिउदो माछा, बोईलर कुखरा लगायतका सामान नियन्त्रणमा लिइएको हो ।
यसरी नियन्त्रणमा लिइएको सामान भन्सार कार्यालयमा दाखिला गरिएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिएका छन् । माछा र बोईलर कुखुरा प्रहरी कर्मचारी तथा पशुक्वारान्टाईनका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।
सीमा क्षेत्रमा भईरहेको अवैध कारोबारका कारण अन्तर सरकारी निकायबीच टसल बढेसँगै त्यसको नियन्त्रणमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार गस्ती टोलिको सक्रियता बढेको हो । भन्सारका कर्मचारीमाथि दुईसाता अगाडी रानीमा आक्रमण भएपछि त्यो विषय केन्द्रसम्म पुगेको थियो । सीमा प्रहरी चौकी रानीका इन्चार्ज पुकारदेव यादवको टोलिलाई त्यहाँको जिम्मेवारी हटाएर नयाँ टोलि खटाइएको छ ।
त्यसपछि सीमा क्षेत्रबाट हुने अवैध धन्दा रोकथाममा कसिलो प्रयास भईरहेको छ । विराटनगर भन्सार कार्यालयले सुरक्षा माग गर्दै भन्सार विभाग तथा अर्थमन्त्रालयमा पत्राचार गरेपछि केन्द्रबाट समेत टोलि विराटनगर आएर फर्केको थियो । त्यस क्रममा सीमाबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न कडा निर्देशन दिइएको थियो । नयाँ सरकार गठनसँगै गृहमन्त्रालयले कडा निर्देशन जारी गर्दै कहिंकतै अवैध काम भए त्यसको जिम्मेवारी नेतृत्व लिएर बसेका प्रहरी अधिकारीले लिनुपर्ने बताएको छ । लगतै नेपाल प्रहरी र सशस्त्र प्रहरीका सादा पोशाकलाई फिर्ता बोलाएको छ । अहिले सीमा क्षेत्रमा चोरी पैठारी हेर्दै आएका सशस्त्रका भीम अधिकारी, नेपाल प्रहरीका भुवन श्रेष्ठलाई सम्बन्धित स्थानको जिम्मेवारमिा फर्काइएको छ ।