अटेर गर्ने केवल तथा नेट कम्पनीका तार विराटनगर महानगरले काट्ने

अटेर गर्ने केवल तथा नेट कम्पनीका तार विराटनगर महानगरले काट्ने

विराटनगर । यही पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको छ ।

सोमबार विराटनगरस्थित केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निणर्य गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ ।

अटेर गर्ने कम्पनीको तार काट्न मेयर नागेश कोइरालाले निर्देशन सम्बन्धित शाखालाई दिनुभयो । उहाँले विराटनगरलाई अब यथास्थितिमा राख्न नसकिने बताउँदै केवल र नेटको तारका कारण महानगरको सौन्दर्यतामा ह्रास आएको बताउनुभयो ।

मेयर कोइरालाले यसअघिको बैठकले गरेको निणर्य कार्यान्वयनमा बेवास्ता भएपछि पुनः बैठक राखेर समयसीमा नै तोकिएको उल्लेख गर्नुभयो । गत असोज १३ गते पनि बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइएको थियो । “अव्यवस्थित तारका कारण विराटनगरको सुन्दरतामा कमी आएको छ,” मेयर कोइरालाले भन्नुभयो, “तपाईंहरु आफैंले व्यवस्थित गर्नु भएन भने हामी आफैं काटेर हटाउँछौं ।”

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको समेत उपस्थितिमा भएको बैठकले चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने निणर्यसमेत गरेको छ । केवल तथा नेट व्यवसायीहरु आफैंले तारको व्यवस्थापन गर्नुपर्नेछ । व्यवस्थापन नगर्ने कम्पनीका तार महानगरले काटेर हटाउनेछ । तार व्यवस्थापनका लागि सहजीकरण गर्न महानगरले इन्जिनियर अनिल सिंहलाई जिम्मेवारी तोकेको छ ।

बैठकमा नेपाल टेलिकम, म्याक्स, सुविसु, वल्र्डलिंकलगायत विभिन्न कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्