गहुँ बाँडफाँड गरिदिन विराटनगरका उद्योगीको माग

गहुँ बाँडफाँड गरिदिन विराटनगरका उद्योगीको माग

विराटनगर । विराटनगरका उद्योगीहरुले भारतले नेपालका लागि तोकेको गहुँको कोटा बाँडफाँड गरिदिन सरकारसँग माग गरेका छन् । नेपाललाई ५० हजार मेट्रिक टन गहुँको कोटा निर्धारण गरेपछि त्यसको आयातका लागि नेपालका उद्योगीहरुबीच बाँडफाँड मिलाई दिन आग्रह गरेका हुन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ को टोलिले अर्थमन्त्री बिष्णु पौडेललाई भेटेर गहुँमा आश्रित नेपाली उद्योगहरु कच्चा नपाउँदा प्रभावित हुन थालेको भन्दै तत्काल कोटा बाँडफाँड गरिदिन माग गरेका छन् । भारतले गहुँ निर्यातमा रोक लगाएपछि खुल्ला सीमाको फाइदा उठाउँदै अवैध आयात गरेर उद्योग सञ्चालन गरिरहेका उद्योगीहरुलाई सीमामा कडाईसँगै समस्या बढेको छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा छ वटा मैदा उद्योग रहेका छन् । बिशाल मैदा मिलका सञ्चालक विकासकुमार बेगवानीका अनुसार अहिले गहुँको अभाव भएको छ । भारतले गत बैशाखदेखि नै गहुँ निर्यातमा रोक लगाएको थियो । मैदाको अभाव हुँदा चाउचाउ, बिस्कुट उद्योगलाई समेत कच्चा अपुग हुँदै आएको बेगवानीले जानकारी दिनुभयो ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बिहीबार अर्थमन्त्री, अर्थ सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरेसँग गुनासो गरेको जानकारी दिनुभयो ।संघका अध्यक्ष रिजाल, नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेसहितको टोलिले बैंकको चर्को ब्याजदर नियन्त्रण गर्न माग समेत गरेको जानकारी दिइएको छ । चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरु तत्कालै निराकरण गरिदिन माग गरिएको अध्यक्ष रिजालले बताउनुभयो ।

यसैगरी उद्योगी व्यवसायीका तीन संस्थाले पछिल्लो समय बिद्युत आपूर्तिमा समस्या देखिएको भन्दै नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै दैनिक १५ पटकसम्म ट्रिपिङको समस्या र ७ देखि ८ घण्टासम्म लोडसेडिङको समस्या औद्योगिक क्षेत्रले भोग्नु परेको गुनासो गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्