विराटनगर । प्रदेश १ सरकार गठन भएको साता दिन वितिसक्दा पनि अहिलेसम्म मन्त्रालय तोकिसको छैन । त्यसो त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २५ गते शपथ ग्रहण गरेको पहिलो दिनमै यसअघि मुख्यमन्त्री कार्यालय बाहेक १२ वटा मन्त्रालय रहेको प्रदेश १ मा नयाँ सरकारले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरिसकेको छ ।
प्रदेश १ स्थापना भएको पहिलो कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित ७ वटा मन्त्रालय रहेका थिए । तर, संघमा भएको राजनीतिक उत्तरचढावले निम्त्याएको परिस्थिति अनुसार तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको संख्या बढाएर १३ वटा पुर्याएका थिए ।
केन्द्रिय सत्ता समिकरण अुनसार प्रदेशमा पनि भागबण्डाको टुंगो लगाउन र मन्त्रालयको संरचनामा सहमति कायम गर्न केही दिन लाग्न सक्ने मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ । यद्यपि कुन मन्त्रालयमा कहाँ गाभ्ने भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको श्रोतले बताए । मख्यमन्त्री कार्कीले शपथग्रहण गरेसँगै ६ जना मन्त्रीको नियुक्ति गरेका छन् ।
हालसम्म तिलकुमार मेन्याङ्बो, दुर्गा प्रसाद चापागाईं, भक्तिप्रसाद सिटौला, जीवन अचार्य, बुद्धिकुमार राजभण्डारी र निर्मला लिम्बू विनाविभागिय मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री कार्की नेतृत्व सरकारले मन्त्रालय संरचना घटाएर मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित ९ वटामा झार्ने तयारी मुख्यमन्त्री कार्यलयको सचिवालयले जनाएको छ । श्रोतका अनुसार जसमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय, पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय रहने गरी तयारी रहेको छ ।
मन्त्रालय टुंगो नलाग्दा यतिबेला नवनियक्त मन्त्रीहरुकालाई कार्यकक्ष व्यवस्थापन गर्न कर्मचारीलाई समस्या भएको छ । मुख्यमन्त्रीसहित ६ जना मन्त्रीको कार्यकक्ष मुख्यमन्त्री कार्यालयमै व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ । भने, मन्त्रालय टुंगो नहुँदा मन्त्रीलाई निवासको समेत समस्या झेल्नुपरेकाले उनीहरु होटलमै बसिरहेका छन् ।
मन्त्रीहरु तिलकुमार मेन्याङ्बो, भक्ति प्रसाद सिटौला र निर्मला लिम्बू विराटनगरस्थित होटल बिगमा बस्दै आएका छन् । भने, मन्त्री द्धोय दुर्गा प्रसाद चापागाईं र बुद्धिकुमार राजभण्डारी विराटनगरमै आफन्तकोमा बस्दै आएका छन् ।
यता, मन्त्री जीवन आचार्य भने विराटनगरस्थित आफ्नै घरमा बस्दै आएका छन् । यस्तै सभामुख बाबुराम गौतम पनि सरकारी निवास नहुँदा होटलमा नै बस्नुपर्ने बाध्यता रहेको छ ।