पैसा लिएर अधिकारी फरार भएपछि उठाउने र बुझाउने मोरङका युवाहरुको कन्तबिजोग, सिआईबीमा पुग्यो छानविन

पैसा लिएर अधिकारी फरार भएपछि उठाउने र बुझाउने मोरङका युवाहरुको कन्तबिजोग, सिआईबीमा पुग्यो छानविन

विराटनगर । चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजबंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्थे । उनीहरुसँगको सम्पर्कमा थिए धरानका मिन्चीरा चाम्रकार, ठेगाना नखुलेका ज्योती घले, कर्णकुमार दवाडी ।

यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवाहरुलाई लोभ्याए । जसमध्ये सुनवर्षीका अजय राजबंशीलाई जापान जाने युवा खोजेर पैसा संकलन गर्ने जिम्मा दिए । अजय राजबंशीले आफन्तहरुमा यसको जानकारी गराए । यो हल्लामा जापान जान तयार भएका ४१ जना युवामध्ये ४० जना मोरङका छन् । मोरङबाट अजयको सम्पर्कमा भएका ४० जना नै राजबंशी समुदायका रहेका छन् । झापा कनकाई–१ का एकजना छन् । उनी भवानीप्रसाद अधिकारी हुन् ।

जापानको हल्ला गत चैत्रदेखि सुरु भएको थियो । बैशाखदेखि पैसा खोज्ने र जम्मा गर्न थालिएको थियो । राजेन्द्रले सामान्य जापानिज भाषा जान्नेहरुलाई लान सकिने भनेपछि पैसा बुझाएका युवाहरुले विराटनगरको इडुमार्कमा अध्ययन गरे । उनीहरुलाई त्यहाँ अजयकी बहिनी विद्या र उनकी बुहारी अनुराधाले पढ्न लगेका थिए । बिद्या विराटनगरको ट्राफिक चौकमा रहेको सिआईटी कम्प्यूटर इन्ष्टिच्यूटमा र अनुराधा गुरुकुल कन्सल्टटेन्सीमा काम गर्दै आएका थिए ।

उनीहरुमध्ये बिद्या अजयकी बहिनी थिइन्, अनुराधा अजयका भाई र विद्याका दाजु रन्जितसँग नजिक थिइन् । जापान जाने भनेपछि अनुराधा र रन्जित विवाह बन्धनमा बाँधिए । राजेन्द्रले युवाहरुलाई ठग्ने नियत राखेपछि जापान जान तयार भएका युवाहरुले जम्मा गर्ने पैसा अजयका भाई रन्जित, बुहारी अनुराधा र बहिनी विद्याको नाममा जम्मा गर्न लगाए । सुरुसुरुमा राजेन्द्रको नाममा समेत पैसा जम्मा गर्न लगाइएको थियो ।
मुख्य योजनाकार भनिएका राजेन्द्र अजयले उठाएको रकम लिएर पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाईबुहारी रन्जित–अनुराधा र बहिनी विद्या फरार छन् । उनीहरुले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारी विरुद्ध उजुरी दिएका छन् । वैदेशिक विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगि कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार गरेको छ ।
पैसा बुझाएका र पैसा बुझाउन आग्रह गर्नेहरु एकै पटक अधिकारीसहितको जालमा फसेपछि अहिले मोरङको दक्षिणवर्ती क्षेत्रका युवाहरुको कन्तबिजोग भएको छ । बारम्बार कानुनी उपचारको खोजीमा रहेका उनीहरुले अजयसहित उनका भाई–बुहारी र बहिनी विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । त्यसका आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा व्यक्ति उपस्थित गराउन निर्देशन भएको छ ।

नक्कली सिओई लेटर बनाएर राजेन्द्रले अन्तिम किस्तासम्मको रकम हाल्न लगाएका थिए । कटहरी–३ का विवेक राजबंशीले मासिक चारलाख रुपैँया कमाई हुने आश्वासनमा १८ लाख पैसा बुझाएको बताए । पैसा बुझाएर जापान जान नपाएका पीडित युवाहरुले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आफुहरुको बाध्यता सुनाएका छन् ।

रंगेली नगरपालिका–८ का राजेश्वर राजबंशीले गत पुस १५ गते मात्रै आफूहरुले नक्कली सिओई लेटरमा पैसा जम्मा गराएर ठगिएको जानकारी पाएको बताए । उनी अजयसँग ५ वर्षसम्म एउटै कोठामा बसेका साथी समेत हुन् । नातामा हामी सबै राजबंशीहरु जेडिएका छौं, राजेश्वरले भने–फस्दा सबै यहि समुदायका युवाहरु फसेका छौं । जापान जान पाउने हल्लाले कतिले घरजग्गा बन्धकी राखेर साहुसँग रकम लिएका छन् । सयकडा ३ देखि ५ सम्मको ब्याजले उनीहरुको ऋणको पारो उकालो लागिरहेको छ । झापा कनकाई–१ क भवानी प्रसाद अधिकारीले आठ लाख रुपैँया बुझाएको सुनाउँदै भने–कसरी फिर्ता ल्याउने र कसरी ऋण बुझाउने भन्ने चिन्ताले हैरानीमा छु ।

जापान जाने धुनमा रहेकी कल्पना राजबंशीले ४ लाख २० हजार बुझाएकी छिन् । त्यसपछि रकम जम्मा गर्ने युवाहरुले ८ लाख, ७ लाख ८ लाख १० लाख हुँदै छ जनाले १६ लाख र एकजनाले १८ लाखसम्म बुझाएका छन् । उनीहरुले बैंकमा जम्मा गरेको पैसा बाहेक नगद समेत बुझाएका थिए ।अधिकारीले अजयका भाई–बुहारी र बहिनीको नाममा जम्मा भएको साला–साली र अन्य केहि पार्टनरको नाममा पठाएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्