विराटनगर । विराटनगर बसपार्कबाट ५० केजी गाँजा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार बेलुका टेम्पोबाट गाँजा बरामद गरेको हो। को २ ख २४२२ नम्बरको टेम्पोमा रायो साग र तेजपत्ता अनलोड गर्दै गरेको अवस्थामा गाँजा बरामद भएको थियो । सुचनाको आधारमा प्रहरीले निगरानीमा राखेको टेम्पोमा साग र तेजपत्ताको तीनवटा बोराभित्र गाँजा भेटिएको थियो ।
मोरङमा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार बरामद गाँजा धनकुटाबाट ओसारपसार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । लागूऔषध ओसारपसारको कसुरमा प्रहरीले धनकुटाको सहिदभुमी गाउँपालिका-४ का ४४ वर्षीय यज्ञप्रसाद राई लाई पक्राउ गरेको छ ।
उनीमाथि लागुऔषध ओसारपसारको कसुरमा मुद्दा चलाउने तयारी भईरहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल घटनाको थप अनुसन्धान भईरहेको छ ।