रोटरीद्वारा निर्मित विराटनगरका तीनवटा विद्यालयको भवन हस्तान्तरण

रोटरीद्वारा निर्मित विराटनगरका तीनवटा विद्यालयको भवन हस्तान्तरण

विराटनगर । विराटनगर कार्यक्षेत्र भएका तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको हो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तीनवटै नवनिर्मित भवनको चाबी विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई सोमबार हस्तान्तरण गरिएको थियो । विराटनगर–६ स्थित जनचेतना आधारभूत विद्यालय, विराटनगर–२ स्थित विराट महेन्द्र रात्री स्कुल र विराटनगर–५ स्थित आधारभूत विद्यालयको भवन महानगरका मेयर कोइरालाले उद्घाटन समेत गरेका थिए ।

रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठको नेतृत्वमा विराटनगर–६ स्थित रामपुरको जनचेतना आधारभूत विद्यालयको स्तरोन्नतिका लागि ५२ लाख ५५ हजार, रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठीको नेतृत्वमा विराटनगर–२ कोचाखालस्थित विराट महेन्द्र रात्री विद्यालयको स्तरोन्नतिका लागि ३३ लाख १९ हजार र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष नम्रता रिजालको नेतृत्वमा विराटनगर–२ स्थित आधारभूत विद्यालयको स्तरोन्नतिका लागि ३० लाख ८० हजाररुपैयाँ खर्च गरिएको परियोजना कोर्डिनेटर कमल अग्रवालले जानकारी दिए ।

विराटनगर–६ रामपुरस्थित जनचेतना आधारभूत विद्यालयमा सोमबार आयोजित कार्यक्रममा मेयर कोइराला र रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठलगायतका रोटरीयनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतकुमार साह हलुवाई र प्रधानाध्यापक जयन्ती दासलाई विद्यालयको चाबी हस्तान्तरण गरे । त्यस्तै विराटनगर–२ को स्तरोन्नति गरेको भवनको दाबी मेयर कोइराला र वडाध्यक्ष कुमार पोखरेलले हस्तान्तरण गरे । जनचेतना आधारभूत विद्यालयका उत्कृष्ट विद्यार्थीलाई साइकलसमेत हस्तान्तरण गरिएको थियो ।

चाबी हस्तान्तरण कार्यक्रममा तीनवटै वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रोटरीयन सन्तोष रिजाल, ताराचन्द खेतान, सुरेन्द्र गोल्छा, डा. बिजु थपलिया, मनोजविक्रम शाह, कमल अग्रवाल, रेखा राठी, सुप्रिया सारडा, श्रृती शर्मा, जीना थापा, रचना राठी, अनिता देव, शिवरतन जोशी र नन्दिप अग्रवालको सहभागीता रहेको थियो । तीनवटै विद्यालयको भवन निर्माण ३ वर्षअघि सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्