विराटनगरमा ४० जना कन्याहरुको सामुहिक बेलविवाह (फोटो फिचर )

विराटनगरमा ४० जना कन्याहरुको सामुहिक बेलविवाह (फोटो फिचर )

प्रेम देवान
विराटनगर । कला र संस्कृतिमा धनी नेवार समुदाय आफ्नो मौलिक पहिचानको प्रवद्र्धनमा पनि उत्तिकै सक्रिय छ । परापूर्वक कालदेखि चल्दै आएका प्रचलनको निरन्तरताकै कारण यो समुदायलाई संस्कृति सम्वद्र्धक पनि भनिन्छ ।

अनेकौ पर्व र प्रचलन जगेर्ना गर्दै आएको यो समुदायमा रजश्वला नभएकी छोरी–चेलीको बेलसँग विवाह गरिदिने परम्परा छ । नेवार समुदायमा सूर्य र बेलसँग विवाह नगरी कन्याको बरसँग बैवाहिक सम्बन्ध जोड्नु हुँदैन भन्ने मान्यता छ । सोही कारण रजश्वला नहुँदै कन्याको बेलसँग विवाह गराइन्छ । व्रत बसेका बालिकाले भगवान शिवका पुत्र कुमारको स्वरूप मानेर बेलसहित कलश, बज्र र चक्रको पूजा गर्दै बालिकाका बुवाले कन्यादान दिने प्रचलन रहेको छ ।

यो समुदायमा पछिल्लो समय सामुहिक वेलविवाह गर्ने प्रचलनसमेत बढेको छ । संस्कृति संरक्षणका लागि स्थापित संघ–संस्था र गुठीहरुले सामुहिक वेलविवाह आयोजना गर्न थालेका हुन् । यसैबीच विराटनगरका नेवार समुदायका कन्याहरुको सामुहिक बेलविवाह गरिएको छ ।

नेपालभाषा सांस्कृतिक संघ झी पुच : विराटगरको आयोजनामा ४० जना नेवार कन्याहरुको सामुहिक बेलविवाह गरिएको हो । विराटनगर १० स्थित बगलामुखी मन्दिर परिसरमा रहेको झी पुचः भवनमा एकैसाथ विराटनगर लगायत अन्य जिल्लाका नेवार कन्याहरुको विहीबारबाट गरिएको बेलविवाह शुक्रबार सम्पन्न भएको छ । समुदाय भित्रकै पुरोहितले परम्परागत सांस्कृति र विधि अनुसार ४० जनाको सामुहिक वेलविवाह गरिएको झी पुच विराटनगरका अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

वेलविवाह सकिएपछि भने बालिकाहरुलाई ८४ व्यन्जन सहितको नेवारी परिकार थ्याबु ख्वाउने प्रचलन छ । नेवार कन्याहरूको रजस्वला हुनु अघिनै बेलसंग विवाह भइसक्नु पर्ने धार्मिक परम्परा छ । छोरीको बेलविवाह र छोराको व्रतबन्ध अनिवार्य गर्नैपर्ने नेवार समुदायको मान्यता छ । व्यक्तिगत रुपमा बेलविवाह सम्पन्न गर्दा धेरै फजुल खर्च हुने भएपछि त्यसलाई न्यूनिकरण गर्न पछिल्लो समय सामूहिक वेलविवाहको प्रचलन बढदो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्