विराटनगर । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार क्षेत्रका दुई पोखरीको पुननिर्माणका लागि ठेक्का प्रक्रिया बढाएको छ । चार परियोजना निर्माण गर्न ठेक्का प्रक्रिया बढाएको महानगरले दुईवटा विराट राजाको इतिहाससँग जोडिएकालाई प्राथमिकता दिएको हो ।
महानगरले विराटको इतिहाससँग जोडिएका दुई पोखरीको पुनर्निर्माण गर्ने तयारी गरेको छ । दश करोड रुपैयाँमा निर्माण कम्पनीमार्फत काम अगाडी बढाउन स्वीकृति दिइएको हो । विराटनगर महानगरपालिका–१८ को रानीपोखरी र मन्टापोखरी संरक्षण गरिने भएको हो । विस्तृत परियोजना प्रतिवेदन तयार भईसकेको यी दुई पोखरीका लागि बजेट बिनियोजन भएको छ ।
रानीपोखरी ग्रीनपार्क निर्माण गर्न विराटनगरको कला विल्डर्सले कबोल गरेको चार करोड ५४ लाख ७६ रुपैयाँ र सोही विल्डर्सले मन्टापोखरी ग्रीनपार्कमा कबोल गरेको पाँच करोड ४४ लाख २८ हजार स्वीकृत भएको छ । यसैगरी विराटनगरको सिंघिया तटमा साँझको सन्ध्या आरतीस्थल निर्माण गर्न तीन करोड ५० लाख ९३ हजार रुपैयाँमा ठेक्का स्वीकृत भएको छ । आरतीस्थल विराटनगर–२ स्थित हनुमान मन्दिरनजिकै सिंघिया घाटमा निर्माण गरिनेछ ।
प्राविधिक शिक्षा दिलाउन सुरु गरिएको महानगर बहुप्राविधिक शिक्षालयको संरचना निर्माण गर्न सात करोड ८९ लाख ४२ हजार १०५ रुपैयाँको ठेक्का छ । विराटनगर– ५ मा संरचना निर्माण गरिनेछ । जनता विद्यालयको भवनमा महानगरको प्राविधिक शिक्षालय सञ्चालनमा छ । नयाँ बनेपछि त्यहाँ सारिने छ ।