दुई करोड बढीको लगानीमा विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ संचालनमा

दुई करोड बढीको लगानीमा विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ संचालनमा

प्रेम देवान

विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थल मध्ये विराटनगरमा जडान गरिएको व्यागेज ह्याण्डलिङ्ग सिस्टम पहिलो भएको दावी गरिएको छ । नेपाल नागरिक उड्डयन सेवा निर्देशनालयका उप महानिर्देशक हंशराज पाण्डेले विराटनगर विमानस्थलमा प्रणालीको उद्घाटन गरेका थिए ।


विराटनगर विमानस्थलका निर्देशक रिन्जी शेर्पाले विमानस्थलमा आजबाट आधुनिक प्रविधिको जडान गरि संचालनमा ल्याएको कन्भेयर प्रणालीले हवाई यात्रा सुरक्षित र हसज हुने समेत दावी गर्नुभयो । सीटीएच.एनटीई जेभी काठमाण्डौंले कन्भेयर बेल्ट प्रणालीको दुई करोड तीन लाख ५१ हजार लागतमा निर्माण गरेको हो । विमानस्थलमा जहाजबाट यात्रु ओर्लेपछि लगेजका लागि पर्खनुपर्ने समस्या अन्त्यका लागि कन्भेयर बेल्ट सुविधा थप गरिएको हो । आन्तरिक विमानस्थलको सेवा सुदृढ गर्दै लैजाने योजना अनुरुप तीन विमानस्थलमा कन्भेयर बेल्ट निर्माण गर्ने योजना अगाडी सारिएको थियो । त्यसका आधारमा विराटनगर विमानस्थलको काम पहिलो भएको छ ।


विमानस्थल भित्रको प्राविधिक सुविधा अभिबृद्धिका लागि अन्तराष्ट्रिय मापदण्ड अनुरुपको सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ । विमानस्थलमा विस्तार गरिने कन्भेयर बेल्ट ४० मिटर लम्बाइ रहेको छ । यसले एकघण्टामा दुईहजार ४ सय ‘ब्यागेज’ क्लियर गर्नसक्ने क्षमता छ । विमानस्थलमा यो सेवा विस्तारसँगै यात्रुलाई ब्यागेज लिन सहज र छिटो हुनका साथै सरसफाईमा समेत सहयोग पुगेको छ । यता पहिलो पटक विराटनगरमा कन्भेयर बेल्ट संचालनमा आएसँग धेरै सहज भएको हवाई यात्रु शुशिला राइले बताउनुभयो् ।


नेपाल नागरिक उडड्यन प्राधिकरणले विराटनगरसहित देशका तीनवटा विमानस्थलमा ‘कन्भेयर बेल्ट’को सुविधा थप गर्ने प्रक्रिया गतवर्ष चैतदेखि नै सुरु गरेको थियो । विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा एकैपटक कन्भेयर बेल्ट निर्माणको प्रक्रिया अगाडी बढाउन बोलपत्र खुलाएको थियो । विराटनगर विमानस्थल प्रयोग गरी सन् २०२२ मा सात लाख ५९ हजार ३५७ जना हवाई यात्रुहरु आगमन र प्रस्थान गरि आफ्नो गन्तव्यतर्फ गरेका कार्यालयले जनाएको छ । उक्त्त अवधिमा आगमनतर्फ तीन लाख ७७ हजार ९८१ र प्रस्थानतर्फ तीन लाख ८२ हजार २७६ जना यात्रुहरुले विमानस्थल प्रयोग गरेका छन् । विराटनगर विमानस्थलबाट विभिन्न कम्पनीका हवाई जहाजहरुले उडान भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्