विराटनगरको सप्तकोशी बैंक घोटाला प्रकरण : सीईओ सुवेदीसहित तीनजनालाई थुनामै राख्न सर्वोच्चको आदेश

विराटनगरको सप्तकोशी बैंक घोटाला प्रकरण : सीईओ सुवेदीसहित तीनजनालाई थुनामै राख्न सर्वोच्चको आदेश

विराटनगर । सप्तकोसी विकास बैंक घोटालामा संलग्न तत्कालीन सीईओ नवीन सुवेदीसहित ३ जनालाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेश सर्वोच्च अदालतबाट पनि सदर भएको छ । अब उनीहरुले थुनामा रहेरै मुद्दाको पुर्पक्ष गर्नुपर्ने भएको हो ।

सुवेदीसहित बैंकका तत्कालीन लेखा प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षका लागि थुनामा राख्न उच्चले दिएको आदेश सर्वोच्चले सदर गरेको छ । उच्चले थुनामा राख्न दिएको आदेश विरुद्ध अभियुक्तहरुले सर्वोच्चमा पुनरावेदन गरेका थिए । उनीहरुको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले उच्चको आदेश शुक्रबार सदर गरेको हो ।

उच्चका तत्कालीन मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजलासले सुवेदी, भण्डारी र भट्टराईलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न २०७८ साल फागुन १३ गते आदेश दिएको थियो । बैंकका अपरेसन प्रमुख अमित थापामगरलाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो ।

घोटालाको मुद्दामा कारोबार भएको खाता सञ्चालक बबिता सुवेदीलाई पनि उच्चले थुनामा राख्न आदेश दिएको थियो । सर्वोच्चले सुवेदी, भण्डारी र भट्टराईको हकमा उच्चको आदेशलाई सदर गरेपनि उनलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
बैंकको कर्पोरेट कार्यालय विराटनगरबाट १५ करोड रुपैयाँ बढी अपचलन गरेको पुष्टि भएपछि नेपाल राष्ट्र बैंक र सप्तकोसी डेभलपमेन्ट बैंकको जाहेरीका आधारमा सिईओ सुवेदीसहित ५ जना कर्मचारीलाई पक्राउ गरेर प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । बैंकिङ कसूरको मुद्दामा अनुसन्धान गरि मुद्दा दर्ता गरिएपछि उनीहरुलाई थुनामा राखेर पूर्पक्ष गर्न उच्चले आदेश दिएको थियो ।

अनुसन्धानबाट सीईओ सुवेदीको योजनामा २०७२ साल चैतदेखि २०७८ मंसिरसम्म लगातार भुक्तानी लिएर बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला भएको देखिएको थियो । बैंकका ९ जना कर्मचारी र ३ जना खातावालासहित १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा २०७८ फागुनमा मुद्दा दर्ता भएकोमा बैंकका सहायक होमप्रसाद पौडेल हाजिर जमानीमा छुटेका थिए । यस्तै कार्यालय सहयोगी चूँडाबहादुर निरौला, सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला कमल दाहाल र मनोज भट्टरार्ई धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्