कोसी अस्पताल विराटनगरलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको टिचिङ्ग अस्पताल स्वीकृत

कोसी अस्पताल विराटनगरलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको टिचिङ्ग अस्पताल स्वीकृत

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल शिक्षणका लागि कोसी अस्पताल विराटनगरलाई टिचिङ्ग अस्पतालको रुपमा प्रयोग गर्ने अनुमति पाएको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले संघीय अस्पताल कोसीलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको टिचिङ्ग अस्पतालको रुपमा प्रयोग गर्न स्वीकृति प्रदान गरेको हो ।

चिकित्सा शिक्षा आयोगले मेडिकल सञ्चालनका तीनवर्षदेखि सञ्चालित ३०० सय शै्याको अस्पताल आवश्यक पर्ने राय दिएको थियो । त्यसका आधारमा कोसी अस्पतालका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दास र पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र संकायका डिन डा.शैलशमणी पोखरेलबीच २०७८ माघ ५ गते दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौता अनुसार पूर्वाञ्चल विश्वविद्यालयको चिकित्सा शास्त्र संकाय अन्तर्गतको आंगिक क्याम्पसमा एम.बी.बी.एस. शैक्षिक कार्यक्रम कोसी अस्पतालसँगको सहकार्यमा सञ्चालन गरिने उल्लेख थियो । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा एम.बी.बी.एस.अध्ययनरत विद्यार्थीले अभ्यास शिक्षण कोसीमा गर्ने र त्यस वापत १० प्रतिशत शुल्क वार्षिक रुपमा बुझाउने उल्लेख थियो । त्यो सम्झौता स्वास्थ्य मन्त्रालयबाट अनुमोदन भएर मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस भएको हो । मन्त्रिपरिषद्ले दुई पक्षबीचको सम्झौतालाई अनुमोदन गरेसँगै अब पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको प्रक्रिया प्रारम्भ गर्नुपर्नेछ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइरालालका अनुसार मन्त्रिपरिषद्ले कोसी अस्पताल प्रयोग स्वीकृति दिएसँगै विश्वविद्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयबीच त्रिपक्षीय समझादारीमा हस्ताक्षर हुनेछ । सम्झौतासहितको सम्पूर्ण प्रतिवेदन चिकित्सा शिक्षा आयोगमा विश्वविद्यालयले पेस गर्नेछ । विश्वविद्यालयले पेस गरेको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा आयोगले कोटासहित मेडिकल कलेज सञ्चालनको अनुमति दिएपछि भर्नाको प्रक्रिया प्रारम्भ हुनेछ ।

विश्वविद्यालयका उपकुलपति कोइरालाले आगामी वर्षदेखि मेडिकल कलेज सञ्चालन र भर्ना प्रक्रिया सुरु हुने जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले कोसी अस्पताललाई टिचिङ्ग अस्पतालको रुपमा प्रयोग स्वीकृति दिएको छ, उपकुलपति कोइरालाले भन्नुभयो–अब बाँकी काम विश्वविद्यालयले अगाडी बढाउने हो । यस अगाडी सुदरपश्चिम विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि डडेलधुरा अस्पतालसँग यस्तो सम्झौता भएको थियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पहलमा यो मोडलमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडी बढेपछि पूर्वाञ्चल विश्वविद्यालयले समेत कोसीलाई टिचिङ्ग अस्पतालको रुपमा प्रयोग गरेर मेडिकल कलेज सञ्चालन गर्ने भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयले कोसी बाहेक गंगालालसँग समेत अस्पताल सञ्चालनका लागि सहकार्य गर्ने तयारी गरेको थियो । गंगालालको शाखा विस्तारको रुपमा गोठगाउँमा अस्पताल खोल्ने र त्यसैलाई टिचिङ्ग अस्पताल बनाउने विषय समेत छलफलमा लगिएको थियो । तर, कोसीलाई टिचिङ्गको रुपमा प्रयोग गर्ने स्वीकृतिसँगै अब गंगालालसँगको च्याप्टर अगाडी बढ्ने संभावना न्यून देखिएको छ ।

केन्द्रीय कार्यालय गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनमा ल्याए मोरङमा मात्रै तीनवटा मेडिकल कलेज हुनेछन् । नोबेल मेडिकल शिक्षण, विराट शिक्षण र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज हुनेछन् । पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि प्रदेश १ का वन, वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्य र नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले, मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद डा.सुनिल शर्मा समेत चासो राख्नु भएको थियो । मन्त्री आचार्यले कोसीलाई टिचिङ्ग अस्पतालको रुपमा प्रयोग गर्ने स्वीकृति दिनका लागि प्रधानमनत्री कार्यालयसँग विशेष अनुरोध गर्नु भएको थियो ।

आचार्यले निर्वाचनको समयमा पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनमा ल्याउने प्रतिवद्धता मतदातासँग गर्नु भएको थियो । निर्वाचित भएलगतै केन्द्रमा दलहरुको समिकरण बदल भएर प्रचण्ड प्रधानमन्त्री भएपछि आचार्यले कोसी र पूर्वाञ्चल विश्वविद्यालयबीच भएको सम्झौता स्वास्थ्य मन्त्रालयबाट अनुमोदन र मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराउने विषयमा आफैं खट्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्