विद्यार्थी आन्दोलनको कडी : नजिकियोस् स्ववियु निर्वाचनको घडी

विद्यार्थी आन्दोलनको कडी : नजिकियोस् स्ववियु निर्वाचनको घडी

सुजता लिम्बु
विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकदै गर्दा यतिबेला मोरङका विद्यार्थी संगठनका नेताहरुमा सक्रियता बढेको छ । विद्यार्थी नेताहरु संगठित रुपमा भेटघाटलाई तिव्रता दिन थालेका हुन् ।

क्याम्पसस्तरमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण कडीको रुपमा हेरिने स्ववियु निर्वाचनको घडी नजिक आउँदा यसले बेग्लै उत्साह समेत थपेको देखिन्छ । त्रिभुवन विश्वविद्यालयको क्यालेन्डरमा हरेक दुई वर्षको फागुन १४ गते स्ववियु निर्वाचन हुनुपर्ने उल्लेख छ । तर, यो क्यालेन्डरमा तय भएको फागुन १४ गतेको स्ववियु निर्वाचन २०६५ साल यता कहिल्यै पूरा भएको छैन ।
गत पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको थियो । त्यसले विद्यार्थीमा नयाँ उत्साह थप्नुका साथै क्याम्पसस्तरमा हुने विद्यार्थी गतिविधि बढाएको छ ।
यसो भन्छन् विद्यार्थी नेता
अखिल(क्रान्तिकारी) मोरङ जिल्ला कमिटी संयोजक उमेश सेन्चुरीले पछिल्लो समय विद्यार्थीका मुद्दा बोक्ने निर्वाचित संस्था सक्रिय नहुँदा विद्यार्थीका समस्याहरू समधान हुन नसकेको बताए ।

२०१८ देखि विद्यार्थी हक, अधिकारको रक्षा, शैक्षिक संस्थाहरूमा शैक्षिक वातावरण निर्माण गर्ने र देशलाई आवश्यक पर्ने भावि नेतृत्व उत्पादन गर्ने लक्ष्यको साथ स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) स्थापना भएको थियो, सेन्च्युरीले भने ‘राणा र पञ्चायती शासन विरूद्धको आन्दोलन सफलताको जगमा टेकेर स्थापना भएको हो ।’

उनले प्रत्येक दुई बर्षमा हुनुपर्ने स्ववियु निर्वाचनमा बाधा आउनु विद्यार्थी आन्दोलन निस्तेज पार्ने षड्यन्त्र भएको बताए । ‘२०७३ मा पनि जम्मा २० प्रतिशत क्याम्पसहरूमा मात्र स्ववियु निर्वाचन भएको थियो ।’ उनले भने,‘पुर्व-तराईका जिल्लाहरूमा त शून्य नै भयो ।’
अधिकांश क्याम्पसमा २०६५ देखि चुनाव हुन नसक्नु विभिन्न विद्यार्थी संगठन भित्रको आपसी किचलो र देशमा भएको राजनीतिक घटनाक्रमलाई दोषी भएको बताउँछन् ।

विद्यार्थीको हक, हित र अधिकारको पक्षमा काम गर्ने निर्वाचित संस्था रिक्त अवस्थामा रहनु दुखद् रहेको बताउँदै उनले भने,‘अग्रगमनको पहरेदार स्ववियु राष्ट्रियता, जनजीविका र राजनीतिक नेतृत्व जन्माउने कारखाना हो ।’
स्ववियु निर्वाचन नहुँदा युवा विद्यार्थी पुस्तामा राजनीतिक बहस समेत कम भएको र राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्दो देखिएको छ ।
यसले लोकतान्त्रिक मूल्य कमजोर बनाउँदै लग्ने मात्रै नभई सक्षम र योग्य व्यक्ति राजनीतिमा आउने बाटो बन्द गर्ने बुझाई छ ।

स्ववियु नहुँदा विद्यार्थी आन्दोलन कमजोर र बैचारिक धरातल कमजोर हुने दाबी गर्दै उनले नेपाली जनताको जनजिविकाका ज्वलन्त मुद्दाहरूमा विद्यार्थी आन्दोलन फेरि नयाँ ढंगबाट जुर्मुराउनका लागि स्ववियु अपरिहार्य रहेको बताए ।
विश्वविद्यालयको कोर्ष निर्माणदेखि देशलाई आवश्यक जनशक्ति निर्माणमा स्ववियुले भूमिका खेल्नु पर्ने आवश्यक रहेको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ अध्यक्ष तुलसी घिमिरेले लामो समय स्ववियु निर्वाचन हुन नसक्दा क्याम्पस प्रशासन आफूखुशी चल्ने प्रवृत्ति बढ्को र पारदर्शीता नभएको आरोप लगाए । उनले युवा पुस्तामा रानजीतिप्रति आकर्षण हराउँदै गएकोले त्यसले लोकतन्त्रलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरे । ‘लामो समयसम्म स्ववियु निर्वाचन हुननसक्दा क्यापस प्रशासन आफू खुशी ढंगबाट चलेको छ, पारदर्शीता छैन,’ उने भने,‘नयाँ आउने युवाहरुमा राजनीतिप्रति वितृष्णा छाएको छ । राजनीतिमा युवा आकर्षण र परिपक्वताका लागि समेत स्ववियु निर्वाचनको निखारबाट क्याम्पस भित्र स्ववियु प्रशासन आवश्यक रहेको घिमिरेको बुझाई छ ।

उनले लामो समयसम्म निर्वाचन हुननसक्नुमा विश्वविद्यालयले समेत चासो नदिएको कारण मान्छन् । विद्यार्थी संगठनको पनि कमजोरी रहेको बुझाई राख्छन् । युवा पुस्तालाई मूलधारको राजनीतिमा जोड्न नसकिएको बताउँदै उनले अब आउने पुस्तालाई मूलधारको राजनीतिमा जोड्न स्ववियु निर्वाचनलाई पुलको रुपमा प्रयोग गर्नुपर्ने धारणा राखे ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका जिल्ला सभापति सरोज पोख्रेलले निर्वाचन नेतृत्वहरुको स्वार्थ र नियतले हुन नसकेको बताउँछन् । उनले आफू निकटको उम्मेदवारीले निर्वाचन जित्ने अवस्था सृजना नहुँदा निर्वाचन नै रोक्ने जस्ता गतिविधिले विगतमा भएको आरोप लगाए । ‘मोरङका केही क्याम्पसमा स्ववियु निर्वाचन भयो, तर महेन्द्र मोरङमा हुन सकेन,’ उनले भने,‘यहाँ चाहीँ केही नेताहरुको इन्टेनशनमा भर प¥यो, कुनै संगठन अलिक कमजोर भयो भने स्ववियु निर्वाचन रोक्ने काम भएको छ ।

उनले अबका दिनमा जे जस्तो भएपनि जुन संगठनको विरोध आए पनि क्याम्पसको मुहार फेर्ने हिसाबले एउटा नेतृत्व दिने भन्ने प्रतिवद्धता सहित निर्वाचनको तयारीमा रहेको बताए । शिक्षा क्षेत्रमा मौलाएको विकृतिको अन्त्य गर्न साथै निगरानी गर्न पनि सहज हुने हुँदा स्ववियु निर्वाचन हुन जरुरी रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्