विराटनगर । विराटनगर विमानस्थलकाे नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । टर्मिनल भवनको साेमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शिलान्यास गरेका हुन् ।
भ्याट बाहेक २ अर्ब ४२ कराेड लागतमा १६ हजार २७७ वर्ग मिटरकाे टर्मिनल भवन निर्माण गरिने भएको हाे ।
टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठुलाे भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे टर्मिनल भवन १५ हजार वर्ग मिटरकाे छ । गाैतमबुद्ध विमानस्थलकाे टर्मिनल भवन पनि १४ हजार वर्ग मिटरकाे छ ।
विमानस्थलकाे धावन मार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियाे । तर बजेट अभावमा अधिग्रहण गर्ने भनिएको जग्गाको राेक्का फुकुवा भयाे । विमानस्थल विस्तारकाे याेजना तत्काल अघि नबढेपनि टर्मिनल भवन भने निर्माण गर्न लागिएको हाे ।
तीन वर्ष भित्र टर्मिनल भवन निर्माण ठेक्का केसी डाफे जेभीले लिएकाे छ । यसअघि २०२५ सालमा विराटनगर विमानस्थलकाे टर्मिनल भवन निर्माण भएको थियाे । पुरानो टर्मिनल भवन भएको स्थानमा भने पार्किङ स्थल बनाउने तयारी छ ।
विमानस्थलकाे टर्मिनल भवन प्रदेश १ काे विकासमा काेशेढुङ्गा सावित हुने मन्त्री राईले बताएका छन् । उनले ठेकेदारलाई समयमा नै काम सम्पन्न गर्न समेत निर्देशन दिए ।
यस्तै विराटनगर विमानस्थलकाे धावन मार्ग पनि विस्तार गरिने भएको छ । महानिर्देशक अधिकारीका अनुसार धावन मार्ग २७० मिटर विस्तार गरिने छ । विमानस्थलकाे धावन मार्ग एक हजार ५ सय मिटर छ । ठूला जहाजलाई सहज रुपमा उडान अवतरणका लागि धावन मार्ग थप गर्न लागिएको महानिर्देशक अधिकारीले बताए ।