समझदारीले ५० वर्षको यात्रामा पुर्‍याएको उप्रेती दम्पतीको वैवाहिक यात्रा

समझदारीले ५० वर्षको यात्रामा पुर्‍याएको उप्रेती दम्पतीको वैवाहिक यात्रा

सुजता लिम्बू
विराटनगर । ‘अहिले एकअर्काको सारथी छौं, कुनदिन एक्लो हुने हो थाहा छैन ।’ ६९ वर्षिया सकुन्ला उप्रेती उनको श्रीमान ७४ वर्षिय लिलाप्रसाद उप्रेती तर्फ हेर्दै सुनाउछिन् । ५ दशक देखि एकबाट दुई भएर सहयात्रा गरिरहेका उप्रेती दम्पतीका लागि प्रेम व्यक्त गर्न कुनै विशेष दिन या अवसरको खाँचो पर्दैैन । उनीहरुका लागि हरेक दिन प्रेममय नै रहने हाँस्दै दुवैजना सुनाउछन् । त्यसो त विवाह अगाडी उनीहरु एकअर्का गहिरो प्रेममा परेको या परिचित भने थिएनन् । आफन्तको माध्यमबाट विवाहको प्रस्ताव आएसँगै जोडी बाँधिने निधो गरेका उनीहरु विवाहको अन्तिम दिनसम्म पनि अपरिचित नै रहेको सुनाउछन् ।

विराटनगरका लिलाप्रसाद र धरानी सकुन्तला विवाह बन्धनमा बाँधिदै गर्दा परिवारको भरोसा र विस्वासमा जीवनको लामो बाटोमा एकअर्कालाई साथ दिने निणर्यमा पुगेका थिए । ‘त्यो बेला परिवारको निणर्य मान्नुपर्ने जमाना थियो,मेरो भदा र उहाँको दाजु साथी भएकाले उहाँको दाजुले हेरेर घरमा कुरा चलाउनुभएको थियो,’ उनले सुनाइन्,‘ अहिलेको जस्तो मनपराएर हेरेर विवाह गर्ने चलन थिएन, परिवारको निणर्य अनुसार ३० सालमा हामी एकबाट दुईजना भएका हौँ ।’ अपरिचितबाट सुरुभएको उनीहरुको दाम्पत्य जीवन अहिले एकअर्कामा खुशी खोज्ने माध्यम बनेको छ ।
जीवनको सुखदुखमा झाँगिदै गरेको प्रेम र सम्बन्धको यात्राले ५० औँ वसन्त पार गरिसक्दा पनि यात्रा अवधिमा रुखो र विर्सन नसक्ने कुनै क्षण नभएको सुनाउछन् । सम्बन्धलाई बुझ्न सके सँधैभरी प्रेमको अनुभूति गर्न सकिने बताउने उप्रेती दम्पतीका लागि आजभोलीको भ्यालेन्टाइन डे को विषय पत्तो नभएको बताउछन् । एकदिन मनाइने भ्यालेन्टाइन डे भन्दा दशकौँ देखि फरक तरिकाले साथ र माया दिँदै आएको सम्बन्धको स्वाद नै महत्वपूर्ण लाग्ने सुनाउछन् ।

‘हामीलाई भ्यालेन्टाइन डे भन्ने नै थाहा थिएन, त्यो बेला यस्तो चलन पनि थिएन,’हाँस्दै उप्रती दम्पती सुनाउछन्,‘ एकदिनको भ्यालेन्टाइन डे भन्दा ५० वर्ष देखि एकअर्कालाई आफ्नै तरिकाले गरेको प्रेम र साथ धेरै महत्वपूणर् लाग्छ ।, हुन त प्रमे गर्ने शैली सबैको फरक हुँदो हो ।’ उनीहरुको एक छोरा र एक छोरी छिन् । तर, दुवैजना साथमा छैनन । छोरी विवाह गरेर इटहरीमा छिन् भने छोराबुहारी नातीनि अमेरीकामा नै बस्दै आइरहेका छन् । त्यसो त उप्रेती दम्पतीलाई छोरा र छोरी दवैले एक्लै दुईजना मात्रै विराटनगर नबस्नु भनेर कहर नगरेका पनि होइनन् । तर, एकअर्का साथ रहुन्जेल सम्म दुईजना स्वतन्त्र भएर बस्ने निधो गरेपछि छोराछोरीले पनि बुवाआमाको निणर्यलाई स्विकार गरेको उप्रेती दम्पिति बताउछन् ।

‘ छोराछोरी दुवैले अमेरीका बस्नु, छोरीले म सँग बस्नु भन्छन्, तर हामी जबसम्म साथमा छौं स्वतन्त्र भएर दुईजनालाई बस्नु दिनु भनेका छौं,’एकै स्वरमा उनीहरु भन्छन्,‘छोराछोरीले धेरै माया गर्छन, हाम्रो यो निणर्य अनुसार हामीलाई यहाँ छोडका छन्, अमेरीका आउनेजाने गरिरहन्छौँ ।’
जीवनका थुप्रैवटा जंगार तरेका उप्रेती दम्पती सम्बन्धलाई जीवन्त राख्न एकअर्कालाई बुझ्न जरुरी रहेको सुनाउछन् । एकअर्काको कमिकम्जोरीलाई स्विकार्दै साथ दिन सके सम्बन्धले बाटो मोड्न जरुरी नहुने बताउछन् । ‘हामीले विवाह भएदेखि यता एकअर्काको कमिकम्जोरीलाई बुझ्दै अगाडी बढेका छौं ,’ लिलाप्रसाद भन्छन्,‘मैले उनको कम्जोरीलाई ठूलो रुप दिएको छैन, उनले मेरो कम्जोरीर्लाइ दुवैजना मिलेर समस्यालाई सुल्झाउने गर्छौ, यसरी नै सम्बन्ध अगाडी बढेको छ ।’

प्रेमले जिउने हिम्मत दियो

दश वर्ष देखि स्तन क्यान्सरबाट ग्रसित रहेकी सकुन्तला माया, प्रेम र साथले रोगसँग लड्ने हिम्मत दिएको बताउछिन् ।
आफूलाई क्यान्सर भएको थाहा हुँदै गर्दा सबैभन्दा पहिले आफूले आफैलाई प्रेम गर्न सुरु गरेको उनले सुनाइन् । आफ्नो ज्यानको माया गर्दै श्रीमान र सन्तानका लागि भए पनि बाच्नुपर्छ भन्ने लागेर क्यान्सरसँग लड्दै जिन्दगी बाँचिरहेको बताउछिन् । ‘म दश वर्ष देखि स्तन क्यानसरसँग लडिरेहकी छु, मैले यो रोगसँग लड्न आफैलाई प्रेम गर्न सुरु गरे,’ उनले सुनाइन्,‘अनि मेरो श्रीमान र छोराछोरीको लागि बाँच्नुपर्छ भन्ने लाग्यो, म केही भए छोराछोरी टुहुरो हुन्छ, श्रीमान एक्लो हुन्छ भन्ने लागेर नै रोगसँग लड्दै बाँचिरहेकी छु ।’

त्यसो त जिन्दगी एक भोगाइको सिंगो किताब रहेको बताउने उनीहरु जीवन जसरी बाँच्न चाहयो उसै गरि बाँच्न सकिने अनुभव सुनाउछन् ।
प्रेम के रहेछ ? भन्ने प्रश्नमा अरुसँग भन्दा पनि श्रीमानश्रीमतीको प्रेम सम्बन्ध सँधै सुमधुर रहनु एकले अर्कालाई बुझ्ने र समझदारी रहने बताउछन् । त्यसो त उप्रेती दम्पतीको प्रेम सम्बन्ध सञ्जिवनी र कुमार सानुको स्वरमा रहेको ‘पूरानो हुँदैन माया, जुनीजुनी लाए पनि’ भन्ने गीतसँग मेल खान्छ भन्नेमा कुनै फरक नपर्ने उनको आफन्तहरु सुनाउछन् । उप्रती दम्पतीलाई दैनिक देख्ने छिमेकीहरु सुनाउछन्,‘उहाँहरु झगडा गरेको, नमिलेको अहिलेसम्म पत्तो पाएका छैनौ, जहाँ जाँदा पनि सँगै जानुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्