विराटनगरमा सहजै भित्रन्छ तस्करीका सामान : सीमामा सेटिङ, बाटोमा पक्राउ

विराटनगरमा सहजै भित्रन्छ तस्करीका सामान : सीमामा सेटिङ, बाटोमा पक्राउ

विराटनगर । भारतबाट अवैध सामान भित्र्याउन अटो तथा सिटीको प्रयोग बढेको छ । बिहीबार मात्रै प्रहरीले विराटनगरमा अटो र सिटीमा अवैध सामान ल्याउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो ।

भारतबाट अवैध रुपमा कपडा भित्र्याउने समूह एकाएक सक्रिय भएको देखिएको छ । भन्सार छलेर सामान भित्र्याउने यस्तो समूहलाई प्रहरीले पक्राउ गरेपनि पुनः चोरी पैठारी र निकासी धन्दा सुरु भएको देखिएको छ । भन्सार छलेर सामान भित्र्याउने स्थानमै कडाई गरिने दावी प्रदेश १ का प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले गरेका थिए । तर, प्रहरीले सामान पक्रने क्रमलाई हेर्दा सीमा क्षेत्र निर्वाध रुपमा अवैध कारोबारको लागि खुल्ला भएको देखिएको छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सेटिङ हानेर अवैध चोरी पैठारी र निकासी धन्दा चलाउन दिन थालेको छ । सीमा क्षेत्रबाट भित्रिएको अवैध सामान नेपाल प्रहरीले विभिन्न स्थानमा चेकजाँचका क्रममा पक्राउ गर्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले विराटनगर–५ कोचाखालबाट को १ ह १३२५ नम्बरको सिटीमा ल्याउँदै गरेको अवैध औषधी बिहीबार बरामद गरेको छ । एकलाख ५० हजार मूल्य बराबरको औषधी ल्याउँदै गरेको अवस्थामा विराटनगर–१२ का ५६ वर्षीय शिवशंकर मण्डललाई प्रहरीले पक्राउ गरेर राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिएका हुन् ।
यसैगरी इलाका प्रहरी कार्यालय रानीको टोलिले भारतबाट अवैध रुपमा भित्र्याइएको एकलाख ३३ हजार ५०० मूल्य बराबरको ८९ थान कुर्था–सुरुवाल पक्राउ गरेको छ । विराटनगर–१३ जतुवा नहरमा को २ ह १६२६ नम्बरको अटोमा सामान लिएर आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीदेखि २ किलोमिटर उत्तरमा अटो चालक सुनसरी बर्जु–३ का प्रेम गुरुङले सामान लिएर आउँदै गरेको अवस्थामा चेकजाँचका क्रममा पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिएका हुन् । प्रहरीले अवैध सामान ल्याउँदै गरेको चारलाख मूल्य बराबरको अटो समेत नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तिर्थ थापाले सीमा क्षेत्रबाट हुने कुनैपनि तस्करीलाई कडाई गरिएको दावी गरेका छन् । उनले तस्करीको हल्ला चलेपछि आफैं सीमा क्षेत्रमा गएर अनुगमन गरिरहेको दावी गरे । खुल्ला सीमानाका भएका कारण शतप्रतिशत नभएपनि संस्थागत तस्करी नियन्त्रणमा शुन्य सहनशीलता अपनाईने दावी गरेका छन् ।

यसैगरी गत मंगलबार प्रहरीले विराटनगर–१२ मुसरी बस्ती नजिक बाँसघारीबाट ९१ थान कुर्था–सुरुवाल बरामद गरेको थियो । एकलाख ३६ हजार ५०० मूल्य बराबरको कपडा बोकेर आउँदै गरेका व्यक्ति फरार भएका थिए । प्रहरीले फागुन १ गते विराटनगर–१५ को एक नम्बर ढाटबाट जहदा गाउँपालिका उदियानन्द सरबरीयालाई ३ लाख ५६ हजार २१० रुपिँयासहित पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्