सञ्चालकको नाममा करोडौंको जग्गा, फिर्ता दिदैंन बचतकर्तालाई पर्दा

सञ्चालकको नाममा करोडौंको जग्गा, फिर्ता दिदैंन बचतकर्तालाई पर्दा

विराटनगर । विराटनगर–२ स्थित तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष केदारनाथ शर्मा सम्पर्कविहीन छन् । सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविता न्यौपाने मंगलबारदेखि मोरङ प्रहरीको नियन्त्रणमा छन् । सहकारीका शेयर सदस्य र बचत गरेका सेवाग्राही दैनिक जिल्ला प्रहरी कार्यालय मोरङमा धाउँदै आएका छन् । उनीहरुले सञ्चालकहरुले सहकारी स्थापना गरेपछि जोडेको जायजेथाको अध्ययन सुरु गरेका छन् ।

बचतकर्ताले जम्मा गरेको रकम फिर्ता दिन नसक्दा फरार रहेका अध्यक्ष अहिले आफ्नै सञ्चालक समितिको सम्पर्कमा छैनन् । सहकारीका कर्मचारी र बचतकर्तासँग पनि उनले कुरा गरिरहेका छैनन् । सहकारीले ऋण तथा बचतसँगै डिपार्टमेन्ट स्टोरहरु सञ्चालन गरेको थियो । ती सबै संयन्त्रहरु ऋहिले बन्द भएपछि बचतकर्ताको करोडौं रकम जोखिममा परेका छन् ।
विराटनगरमा पाँच हजार बचतकर्ताको रकम जोखिममा परेको छ । झण्डै ७० करोड रकम बचत भएको बताइन्छ । झापाको दमक, उदयपुरको गाईघाट, सिराहाको गोलबजार र काठमाण्डौंमा समेत सहकारी सञ्चालन गर्ने भन्दै बचत गराउन लगाइएको थियो । शेयर पूँजी १० करोड रहेको सहकारीको निक्षेप ढेड अर्ब छ ।

सहकारीका सञ्चालक समिति अध्यक्ष शर्माको नाममा झापाको चन्द्रगढी, दमक, इटहरी, विराटनगर र काठमाण्डौंसम्म करोडौंको जग्गा रहेको दावी बचतकर्ताहरुको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयमा पुगेका एक बचतकर्ताले एउटै प्लटमा एकै पटक खरिद गरेको जग्गा आफ्ना–आफन्तको फरक–फरक नाममा समेत रजिष्ट्रेशन गरेको दावी गरेका छन् । विराटनगर–१९ को मिलनचौकमा १६ कठ्ठा, झापाको गौरादहमा डेड बिघा जग्गा सहकारीको नाममा रहेको छ । त्यस बाहेक गाईघाटमा तीनसय रोपनी जग्गा समेत देखिएको छ ।

बचतकर्तासँग संकलन गरिएको रकम जग्गा खरिद गरेर प्लटिङ गर्ने मनसाय राख्दा कारोबार असन्तुलन भएको देखिएको छ । यस बाहेक संस्थाका सञ्चालकले बचतकर्ताको रकममा मनोमानी गरेर व्यक्तिगत प्रयोजनमा खर्चेको देखिन्छ ।
सहकारी डुबेको हल्लासँगै बचतकर्ताले एकै पटक रकम मागेका छन् । सञ्चालक समितिलाई घरजग्गा कित्ताकाट रोकिदाँ पैसा घुमाउने उपाय समयमै नपाएका कारण असजिलो छ । त्यहि कारण संस्थाका अध्यक्ष फरार भएको आरोप लाग्दै आएको छ । २०५२ सालमा सहकारी स्थापना गरेर अध्यक्ष केदारनाथ शर्माले यहि खेलो फड्को गर्दै आएका थिए । हाल उनी कहाँ छन् भन्ने यकिन भएको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख दिपक पोखरेलले जहाँ गएपनि पक्राउ गरेर ल्याईने बताए । उनले बचतकर्तालाई आश्वासन दिदैं भने–पहिले सबै सञ्चालक र पदाधिकारी भेला भएर रकम व्यवस्थापनको प्रतिवद्धता जनाए, हामीले पक्राउ गरेका उपाध्यक्ष र सचिवलाई समेत छोडिदिन्छौं । तर, सानो आयआर्जन भएका व्यक्तिहरुको रकम संकलन गरेर अपचलन गरेको भए कानुनी दायरामा ल्याउने प्रक्रियामा जान्छौ । त्यसपछि व्यक्तिगत नाममा रहेको चलअचल सम्पति, संस्थाका नाममा रहेको सम्पति रोक्का गर्ने प्रक्रियामा जानेछौं ।

सहकारीका सञ्चालकले तरलताको अभाव देखाउँदै बचतकर्तालाई आश्वस्त पार्न खोजेका छन् । तर, शेयर सदस्य नै नभएका बचतकर्तासँग समेत बचत संकलन गरेर सहकारीको मर्म विपरित काम गरेको देखिएको छ । बजारमा अहिले बचतकर्ताबाट रकम संकलन गर्न जाने कलेक्टरलाई कसैले पैसा दिन छोडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्