विराटनगरका बचतकर्ताले तुलसी सहकारीका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै घेरे सिडिओ कार्यालय

विराटनगरका बचतकर्ताले तुलसी सहकारीका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै घेरे सिडिओ कार्यालय

विराटनगर । विराटनगर–२ स्थित तुलसी सहकारीका बचतकर्ताले सञ्चालकलाई तत्काल नियन्त्रणमा लिएर रकम फिर्ता गराउन दवाव दिदैं जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् । स्थानीय प्रशासनले गत मंगलबार गराएको छलफल अनुसार शुक्रबारसम्म रकम फिर्ता गराउने प्रतिवद्धता पूरा नभएको भन्दै बचतकर्ताले शुक्रबार कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् ।

छलफलमा सञ्चालकबाट तीनदिन भित्र बचतकर्ताको रकम भराउने स्थानीय प्रशासनले प्रतिवद्धता जाहेर गरेको थियो । त्यसका आधारमा सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई प्रहरीले पक्राउ गरेपनि अध्यक्ष केदारनाथ शर्मा सम्पर्कविहीन छन् ।
बचतकर्ताले सहकारीका अध्यक्ष शर्मालाई तत्काल खोजी गरेर पक्राउ गर्नुपर्ने र रकम फिर्ताका लागि जनाएको प्रतिवद्धता अनुसार काम हुनुपर्ने माग गरेका हुन् । पक्राउ परेका उपाध्यक्ष र सचिव विरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान भईरहेको छ । प्रशासनले उनीहरु विरुद्ध कुन मुद्दा लैजाने भन्ने विषयमा कानुनी परामर्श गरिरहेको जनाएको छ ।

सहकारीमा विराटनगरका पाँच हजार बचतकर्ताको रकम रहेको दावी छ । अहिले सबै बचतकर्ताले आफ्नो रकम अपचलन गरेर सहकारीका अध्यक्ष शर्मा विदेश गएको दावी गर्दै आएका छन् । बचतकर्ता भानु थपलियाले तीनवर्षदेखि जम्मा गरेको रकम २५ लाख रुपिँया डुबेको गुनासो गर्नुभयो । आफ्नो बचत २५ लाख रुपिँया पुगेपनि पछिल्लो छ महिनायता फिर्ता माग्न जाँदा नदिएको थपलिायको गुनासो छ ।

सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय स्थापना गरेको छ । विराटनगरका बचतकर्ताको ७० करोड रुपैयाँ निक्षेप संकलन भएको बताइन्छ । सबै शाखामा डेढ अर्ब निक्षेप रहेको कर्मचारीहरु बताउँछन् । सहकारीका एक कर्मचारीहरुका अनुसार ४८ करोड रुपिँया कर्जा प्रवाह भएको देखिन्छ । शेयर पूँजी दश करोड रुपिँया रहेको छ ।

सहकारीको विराटनगर–१९ स्थित मिलनचोकमा १६ कठ्ठा, झापाको गौरादहमा तुलसी राईस मिलको नाममा पनि डेढ बिगाहा र गाईघाटको खाबुमा ३०० रोपनी जग्गा रहेको देखिन्छ । सहकारीले हालसम्म दमक, गाईघाट, र मोरङको लेटाङमा डिपार्टमेन्ट स्टोरहरू सञ्चालन गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्