विराटनगरको तुलसी सहकारी सञ्चालकको बैंक तथा सम्पति रोक्का

विराटनगरको तुलसी सहकारी सञ्चालकको बैंक तथा सम्पति रोक्का

विराटनगर । विराटनगर–२ स्थित तुलसी सहकारीका सञ्चालकहरुको चल अचल सम्पति तथा बैंक खाता रोक्का गर्ने निर्णय गरिएको छ । बचतकर्ताले सञ्चालकलाई तत्काल नियन्त्रणमा लिएर रकम फिर्ता गराउन दवाव दिदैं जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेपछि स्थानीय प्रशासनले सबै कारोबार रोक्का गर्ने तयारी गरेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहका अनुसार बचतकर्ता, सहकारीका कर्मचारी तथा व्यवस्थापक, स्थानीय प्रशासन र प्रहरी कार्यालयसँग शुक्रबार भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । ‘सहकारी विभागसँगको समन्वयमा पक्राउ परेका र फरार रहेका सञ्चालक, चलअचल सम्पति, बैंक खाता, सहकारीको नाममा रहेका सबै बैंकका खाता रोक्का गर्ने निष्कर्ष निकालेका छौं’ सहायक प्रमुख जिल्ला अधिकारी साहले भन्नुभयो–बचतकर्ताको माग अनुसार स्थानीय प्रशासनले कानुनी प्रक्रिया सुरु गरेको छ ।

सहकारीका अध्यक्ष केदारनाथ शर्मा सम्पर्कविहीन हुनुहन्छ । उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई प्रहरीले गत मंगलबार नै पक्राउ गरिसकेको छ । बचतकर्ताले सहकारीका अध्यक्ष शर्मालाई तत्काल खोजी गरेर पक्राउ गर्नुपर्ने र रकम फिर्ताका लागि कानुनी प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । मोरङ प्रहरीका प्रमुख दिपक पोखरेलले अध्यक्ष शर्मासहित अन्य पक्राउ गर्नुपर्ने देखिन आएका व्यक्तिहरुको विषयमा खोजतलासको प्रक्रिया प्रारम्भ भएको जानकारी दिनुभयो ।

सहकारीमा विराटनगरका पाँच हजार बचतकर्ताको रकम रहेको दावी छ । अहिले सबै बचतकर्ताले आफ्नो रकम अपचलन गरेर सहकारीका अध्यक्ष शर्मा विदेश भागेको आरोप लगाएका छन् । बचतकर्ता भानु थपलियाले तीनवर्षदेखि जम्मा गरेको रकम २५ लाख रुपिँया डुबेको गुनासो गर्नुभयो । आफ्नो बचत २५ लाख रुपिँया पुगेपनि पछिल्लो छ महिनायता फिर्ता माग्न जाँदा नदिएको थपलिायको गुनासो छ ।

सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय स्थापना गरेको छ । विराटनगरका बचतकर्ताको ७० करोड रुपैयाँ निक्षेप संकलन भएको बताइन्छ । सबै शाखामा डेढ अर्ब निक्षेप रहेको कर्मचारीहरु बताउँछन् । सहकारीका एक कर्मचारीहरुका अनुसार ४८ करोड रुपिँया कर्जा प्रवाह भएको देखिन्छ । शेयर पूँजी दश करोड रुपिँया रहेको छ ।
सहकारीको विराटनगर–१९ स्थित मिलनचोकमा १६ कठ्ठा, झापाको गौरादहमा तुलसी राईस मिलको नाममा पनि डेढ बिगाहा र गाईघाटको खाबुमा ३०० रोपनी जग्गा रहेको देखिन्छ । सहकारीले हालसम्म दमक, गाईघाट, र मोरङको लेटाङमा डिपार्टमेन्ट स्टोरहरू सञ्चालन गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्