विराटनगर । आइतबार राती ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोजिरहेका थिए । उनले अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्ने भन्दै भाडा सोधिरहेका थिए । गाडी चालकहरुले पनि कोसी अस्पताल भित्रै निधन भएको व्यक्ति बोक्ने होला भन्ने ठाने । तर, लास अस्पताल भन्दा बाहिर बुढीगंगा गाँउपालिका–२ को एउटा घरमा रहेको भनेपछि उक्त सुचना प्रहरीसम्म पुग्यो ।
प्रहरीले रामलाई राती नै नियन्त्रणमा लियो । उनले सुरुमा ढाँटे । मानसिक रुपमा कमजोर जस्ता देखिएका रामले जब बुढीगंगा–२ मा एउटा लास व्यवस्थापन गर्नुपर्ने भने त्यसपछि प्रहरीले महिलाको हत्या भएको सुचना पायो । विराटनगर–१९ की प्रियंका सुनारको बुढीगंगा–२ स्थित नरसिंह चौधरीको घरमा दिउँसो हत्या गरिएको थियो । त्यहि लासलाई व्यवस्थान गर्ने जिम्मा कटहरीका ६२ वर्षीय रामलाई दिइएकोले उनी गाडी खोजिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।
घटनामा संलग्न आरोपमा चारजनामध्ये अहिलेसम्म तीनजना पक्राउ परिसकेको मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिएका छन् । जसमध्ये मृतक प्रियंकाका श्रीमान् समेत घटनामा संलग्न रहेको खुलेको छ । प्रियंकालाई त्यहाँसम्म उनका श्रीमान् रमेश साहले लगेको हुनसक्ने देखिएको छ । साहले उनलाई त्यहाँ लिएर पुग्नु अगाडी दुईजना युवा चौधरीको घरमा पुगिसकेको देखिन्छ । मृतक सुनवारलाई त्यहाँ भएका दुईजनासँग छोडेर पु¥याउन जाने र घरधनी समेत बाहिर निस्केको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरु हिडेपछि दुईजनाले हत्या गरेर बोरामा पोको पारेर ग्वालीमा राखेर हिडेका थिए । जसमध्ये एकजना कटहरी ५ का ३५ वर्षीय उमेश सरदार रहेको खुलेको छ ।
घटनाको विषयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार योजनावद्ध रुपमा महिलाको हत्या भएको देखिन्छ । घटनामा कसको कस्तो संलग्नता छ भन्ने यकिन अझैसम्म भएको छैन । प्रहरीले पक्राउ परेकामध्ये दुईजनाको मात्रै नाम सार्वजानिक गरेको छ । एकान्त स्थानमा रहेको चौधरीको घरमा घटना गराउने योजना कसरी बन्यो भन्ने यकिन भईनसकेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
प्रहरीले घटना भएको घरका धनी नरसिंह चौधरीलाई समेत सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय झिकाएको छ । चौधरी गाडी खोजिरहेका व्यक्तिका दाजु राजेन्द्र रामसँग चिनजान भएका व्यक्ति हुन् । उनकै साईनोबाट त्यहाँ पुगेका दुईजना युवाले बस्न पाएको हुनसक्ने देखिन्छ । पछि महिलालाई लिएर पुग्ने र पुगेपछि दुईजना युवासँग महिलालाई छोडेर बाहिर निस्केको र पछि पुनः फर्केर आएको घटना विवरण अनुसार योजनावद्ध हुनसक्ने अनुमान गरिएको छ ।
हाल घटनामा संलग्नहरुसँग सोधपुछ र किन हत्या गर्नु परेको भन्ने कारण बारे सोधपुछ भईरहेको छ । प्रहरीका एक अधिकृत अनुसार श्रीमती अर्कैसँग सम्बन्धमा बसेको आशंकामा श्रीमान्को योजनामा हत्या भएको र त्यसमा संलग्नहरु विभिन्न कोणबाट जोडिएको हुनसक्ने संभावित परिदृष्य देखिन्छ । चौधरीको श्रीमती र छोरा समेत घरमा थिएनन् । घटनापछि प्रहरीले लास बरामद गर्दा समेत उनीहरु त्यहाँ नआएको बताइएको छ ।
भिडीयो हेर्नुहोस् :