विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारप्रति अनावश्यक बितृष्णा जगाउने काम भईरहेको बताउनु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवन उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार मात्रै अनावश्यक भएको जस्तो गरेर चर्चा हुने गरेको बताउनु भएको हो ।
‘प्रदेश सरकारमाथि अन्याय भईरहेको छ’ मुख्यमन्त्री कार्कीले भन्नुभयो–गाडी दुर्घटना भए प्रदेश सरकार खारेज हुनुपर्छ भनेर सामाजिक सञ्जालमा लेखिन्छ । उहाँले तीन तहका सरकार भएपनि नागरिकले स्थापीत हुँदै गरेको प्रदेश संरचनाप्रति अमर्यादित तरिकाले प्रतिक्रिया आउने गरेको बताउनुभयो ।
प्रदेश सरकारले छोटो अवधीमा समेत धेरै काम गरेको दावी गर्दै मुख्यमन्त्री कार्कीले सहयोग गर्दा मात्रै त्यसको प्रतिफल अझै आउनसक्ने आश्वस्त पार्नुभयो । उहाँले संघीय प्रहरी ऐन, संघीय निजामती ऐन, शिक्षा ऐन अझैसम्म नबनेको बताउँदै संविधानले तोकेका अधिकार अझैसम्म प्रदेशमा नआएको बताउनुभयो ।
यस विषयमा संघीय सरकारसँग छलफल र बहस भइरहेको बताउँदै मुख्यमन्त्री कार्कीले हस्तान्तरण भएर आउनु पर्ने अधिकार प्रयोग गर्न पाए प्रदेश सरकार सबैभन्दा सवल र आवश्यक संरचनाको रुपमा नागरिकको भरोसा हुने दावी गर्नुभयो । ‘कयाँै क्षेत्रमा हस्तान्तरणका प्रक्रिया पुरा भएको छैन, पाँच वर्षमा प्रदेश र स्थानीय तहले पाउनुपर्ने अधिकार पाईसकेको छैन’ मुख्यमन्त्री कार्कीले भन्नुभयो–बजेट दिने कुरामा पनि कन्जुस्याँई हुने गरेको छ ।
उहाँले प्रदेश प्रहरी ऐन ल्याउने स्थिति आए सरकारले आवश्यक पर्ने सबै सेवा सुविधायुक्त प्रहरी परिचालनको व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले प्रदेश प्रहरी कार्यालयको संरचना निर्माण भएपछि त्यस अनुसारको सेवामा खटिन समेत निर्देशन दिनुभयो । सामाजिक सुरक्षामा प्रहरीको योगदान महत्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री कार्कीले नागरिकका समस्यालाई प्राथमिकतामा राखिनुपर्ने माग गर्नुभयो ।
बर्दी लगाएको प्रहरी नागरिकका लागि पहिलो सरकार हुने बताउँदै मुख्यमन्त्री कार्कीले यसलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । नागरिकको सेवक बनेर प्रहरीले काम गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले सुशासनका लागि समुन्नत प्रहरीको जरुरी रहेको बताउनुभयो ।
भवन निर्माणका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयलबाट मूल्य अभिबृद्धिसहित १९ करोड १४ लाख एक हजार ६६३ रुपिँया बजेट खर्च भएको थियो । तीन हजार ३४१ वर्गफिटमा बनेको पाँच तले भवनमा ७५ वटा कोठा रहेका छन् । प्रदेश प्रहरी कार्यालय परिसरमा १६ बिघा १४ कठ्ठा १३ धुर जग्गा छ ।