विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा सोमबारदेखि ‘साँढे’ मञ्चन सुरु हुने भएको छ ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गर्न लागिएको अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन् । नाटकमा राजाको प्रिय साँढे मर्दा प्रजामा फैलिएको त्रास र बाँच्न लगाएको जुक्तिको कथा छ ।
२ सय वर्षअघिको हाम्रो समाजको मनोविज्ञान बोल्दै गर्दा उक्त नाटकले विद्रोहको झल्को पनि दिन्छ । कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयसूचीमा समावेश उक्त नाटकमा भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, प्रज्वल दुलाल, सागर विश्वास, समिक्षा दाहाल, रविन चिमरिया, प्रदिप दाहाल, अजय सुवेदीले अभिनय गरेका छन् ।
यस्तै दिक्षा चौधरी, अमन धमला, सुगल अधिकारी, कञ्चन दास, निरज कार्कीले पनि अभिनय गरेका छन् ।