काठमाडौं । सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ ।
नेपाल आयल निगमले आज विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।” नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत पाँच रुपैयाँ पाँच पैसाले सस्तो भएर आएको छ ।
यस्तै पेट्रोलमा एक रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा तीन रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसाले लागत घटेको छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको लागत प्रतिसिलिन्डर तीन सय ३९ रुपैयाँले बढेको छ । पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ ।
निगमलाई गत आर्थिक वर्षको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमको भनाइ छ ।