विराटनगरमा नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन सुरु

विराटनगरमा नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन सुरु

विराटनगर । विराटनगरमा नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन बिहिबारदेखि सुरु भएको छ । सोही अवसरमा संघको ३१ औं कार्यकारिणी समितिले नवनिर्वाचित ३२औं कार्यकारिणी समितिलाई पद हस्तान्तरण गरेको हो ।

संघका बहालवाला अध्यक्ष डा लोचन कार्कीले नवनिर्वाचित अध्यक्ष डा अनिल विक्रम कार्कीलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए । उनले अघिल्लो कार्यकालमा संघले कोभिड १९ महामारीका बीच स्वास्थ्य सेवाको क्षेत्रलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।

सोही अवसरमा संघका अन्य पदाधिकारी र सदस्यहरूलाई संघका निर्वाचन समितिका संयोजक डा धनबहादुर रानाले निर्वाचित भएको घोषणा गरेका थिए । संघका नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारी र सदस्यहरूलाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रमाणपत्र प्रदान गरे ।

करिब १३ हजार चिकित्सकहरू आवद्ध रहेको संघले विराटनगरमा तेस्रो पटक यस्तो सम्मेलन आयोजना गरेको जनाइएको छ । विसं २००७ फागुन २० मा विराटनगरमै संघको पहिलो केन्द्रीय तदर्थ समिति गठन गरिएको थियो । नेपाल चिकित्सक संघ कोशीका अध्यक्ष डा फरवार्ड सिलवालको अध्यक्षतामा संघको केन्द्रीय सम्मेलन विराट मेडिकल कलेजमा आयोजना गरिएको हो । सम्मेलनको उद्घाटनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, भारतीय मेडिकल एशोसिएशनका अध्यक्ष डा सरदकुमार अग्रवाल लगायतले शुभकामना दिएका थिए ।

सम्मेलनकै अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी बिच्छासहित डा सुधा शर्मा र डा केदार शर्मा सम्मानित भएका छन् । संघले प्रदान गर्ने पूर्ण जीवन उपलब्धी सम्मान डा गौरिशंकर लाल दासलाई दिएको छ । रूपा चिकित्सा सेवा अवार्ड अन्तर्गत चिकित्सा सेवातर्फ डा भोला रिजाललाई एक लाख रूपैयाँ र स्वास्थ्यकर्मी लहरमाया बान्सिकालाई २५ हजार रूपैयाँ राशीसहित सम्मानित गरिएको हो । सम्मेलनमा डा लोचन कार्कीले तयार पारेको 'नेपाल चिकित्सक संघको विगतदेखि बर्तमानसम्म' नामक पुस्तक तथा संघको जर्नल विमोचन गरिएको थियो ।

त्यस्तै महासचिव डा बद्री रिजालले संघको तीन बर्षको गतिविधिलाई सम्मेलनमा प्रतिवेदनात्मक रूपमा प्रस्तुत गरी छलफल गरिने जानकारी दिए ।

उद्घाटनका अवसरमा देशभरका बरिष्ठ चिकित्सक लगायत करीव एक हजार चिकित्सकहरूको सहभागिता रहेको जनाइएको छ । सम्मेलनमा विज्ञानशत्रमा विभिन्न अध्ययन अनुसन्धानसम्बन्धी जर्नलहरू समेत प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी दिइएको थियो । मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेजले सम्मेलन आयोजनाका लागि सहयोग गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्